विराटगनर  / इन्धनको चरम अभाव भएको गुनासो चौतर्फी बढेपछि मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले नेपाल आयल निगम विराटनगरका प्रमुख दिनेशकुमार यादवलाई बोलाएर सञ्चारकर्मीसंग अन्तरक्रिया गर्नुभएको छ । अन्तरक्रियामा आम उपभोक्ताहरुले इन्धनको अभाव महशुस गरेको गुनासो प्रतिनिधिमुलक रुपमा अभिव्यक्त भएको थियो भने निगमले बजारमा अभाव नभएको जिकिर गरेको छ । अभाव छैन भनेपनि उपभोक्ताले सहजरुपमा इन्धन पाएका छैनन् । इन्धन अभाव हुनाको यथार्थ कारण निगमले स्पष्ट नगरिदिएका कारण पेट्रोलियमको कारोवार सम्वन्धी पूर्ण जानकार नहुने जो कोही प्रशासकलाई गुमराहमा राख्न व्यवसायिहरु सफल भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार आयोजित अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी कोइरालाले आवश्यकता भन्दा बढी तेल निगमले बेचे पनि अभाव किन भइरहेको छ भन्ने प्रश्न गरे । नेपाल आयल निगमले एक सातामा ५० लाख लिटर भन्दा बढी डिजल पेट्रोल बिक्रि गरेको छ । यो कोशी र सगरमाथाका १२ जिल्लाकालागि करिव १५ दिनलाई पुग्ने परिमाण हो । कार्यक्रममा उपस्थित आयल निगमका प्रमुख यादवसामुन्ने प्रजिअ कोइरालाले इन्धन अभाव भएको विषयमा जनताले जान्न पाउनु पर्ने र एक एक जवाफ दिनुपर्ने भन्दै सचेत गराउनु भयो । कोइरालाको प्रश्नमा नबोली बसेका आयल निगमका हाकीमलाई पत्रकारहरुले गर्ने प्रश्न एकाकए प्रमुख जिल्ला अधिकारी र मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीबाट आएपछि उपस्थित पत्रकार स्रोता र दर्शक बनेका थिए । आयल निगमले बोनस बाँड्दा आफ्नै कर्मचारीलाई बाँड्ने भन्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले यादवलाई काम पनि गर्नुपर्ने र जिम्मेवारी पनि लिनुपर्ने बताए । विगतका दिनमा १ हजार लिटर पेट्रोलियम पदार्थ विक्री गर्न नसक्ने सीमाक्षेत्रका पेट्रोलपम्पले ५० हजार लिटरभन्दा बढी पेट्रोल लगेको भन्दै पत्रकारहरुले आक्रोश पोखेका थिए । सबै प्रश्नको टालटुले जवाफ दिएका यादवले अबको १÷२ दिनभित्र इन्धनको सहज आपूर्ति हुने बताए । ‘ इन्धन अभाव हटाउन जिल्ला प्रशासन कार्यालयले मंगलवार आयोजना गरेको सर्वदलिय बैठकपछि पाँच बुँदे निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आयल निगमसहित सरोकारवाला सरकारी निकायको बैठक राखी तत्कालै इन्धन सहज बनाउनकालागि ५ बुँदे निर्णय गरेको हो । भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपाल आइपुग्न तीन दिनलाग्ने समय छोट्याएर दुई दिनमा ल्याइपु¥याउने, ड्रम, ग्यालेन लगायतका सामाग्रीमा तेल दिँदा भ्याट बिल जारी गरेर मात्र इन्धन उपलब्ध गराउने, इन्धन सहज नहुँदासम्म भारतीय ठूला सवारी साधनलाई एक पटकमा ५० लिटर र साना सवारी साधनलाई १० लिटर मात्रै वितरण गर्ने तथा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै इन्धन वितरण गर्ने लगायत छन् । भारतीय ट्रकले तेल भरेका कारण अभाव भएको भन्ने निगमको तर्कलाई प्रजिअ स्वयंले अस्वीकार गरेका थिए । यसैबीच ड्रमबाट भारत निकासी हुँदै गरेको ५ सय ३० लिटर इन्धन मोरङ प्रहरीले बरामद गरेको छ । इन्धनको अभाव चरम अवस्थामा भइरहँदा नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको उक्त परिमाणको डिजेल सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । मोरङका प्रहरी उपरीक्षक संदिप भण्डारीले हिजोसम्म प्रहरीको आँखा इन्धन तस्करीमा नभएको तर कृतिम अभाव नै सृजना गरेपछि प्रहरीले अनुसंद्दानलाई तिब्रता दिएको बताए । उनले बोतलबाट वा अरु कुनै माध्यमबाट जुन अवस्थामा भेटिन्छ बरामद गर्न निर्देशन गरेको टिप्पणी गरे ।