काठमाडौं/ कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत– माफियाहरुले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् ।

खाडीचौरमा ढलेको पोल र बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको छ ।

गत फागुन ६ गते राति सुनकोशीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनअन्तरगत खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नम्बर खम्बा ढल्यो । सो खम्बा ढल्नुभन्दा अघि त्यहाँको टावर जोखिममा परेका कारण खम्बाको जगमा जाली राखेर मर्मत गरिँदै थियो ।

फागुन ६ गते राति खम्बाको जगमा जाली राखेर कामदारहरु घरतर्फ लागे । तर, कामदारहरु घर फर्किएपछि मध्यरातमा शंकास्पद रुपमा टावर ढल्यो । यो टावर नढलेको भए ७ गते मर्मतको काम सकिने थियो ।

प्राधिकरणका प्राविधिकहरुले सो खम्बा प्राकृतिक रुपमा नभई नियतवस जग फोडेर ढालिएको निश्कर्ष निकालेका छन् । सो समयमा कुनै हवाहुरी नआएको र अन्य कुनै प्राविधिक कारणसमेत नदेखिँदा प्राधिकरणलाई संशयमा पारेको हो ।

यसबारे प्राधिकरणका अधिकारीहरुले आन्तरिक रुपमा अनुसन्धान अधि बढाएको कुलमान निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।