रोल्पारराङकोट/ ५ दाउनीभिरकी हस्तमाली वली आइतबार छोरीलाई साथ लिएर जिल्ला सदरमुकाम लिबाङ आइपुगिन् । ७१ वर्षीया हस्तमालीको सदरमुकाम आउनुको कारण थियो, ७० वर्षीय श्रीमान् पञ्चबहादुर वलीसँग सम्बन्धविच्छेदको माग गर्नु ।
‘सधैँ कुटपिट गथ्र्यो, छोरीको घरमा पनि बस्न दिइन, सधैँ दुःख दियो । त्यही भएर धागो छिनाल्न आएँ,’ हस्तमालीले सम्बन्धविच्छेद माग्नुको कारण प्रस्ट्याइन् ।
करिब सात वर्षदेखि नै अलग रहँदै आएको यो दम्पतीको झगडा गाउँमा धेरैपटक मिलापत्र गरिए पनि सम्बन्ध सुध्रिएन । हस्तमाली भन्छिन्, ‘गाउँमा धेरैपल्ट कचहरीमा कागज बनाइदिए, तर उसले मलाई पिट्न छोडेन ।’ कैयौँपटक प्रहरीकहाँ पुग्दा पनि समस्या समाधान नभएको उनले बताइन् ।
पञ्चबहादुरका सात श्रीमती छोरी कमला वलीका अनुसार पञ्चबहादुरका सातवटी श्रीमती थिए । कोही मरिसके भने कोही अझै छन् । पञ्चबहादुरकी कान्छी श्रीमती हुन्, हस्तमाली । ‘तँलाई दुःख दिन्नँ, राम्ररी बसम्ला भनेर बिहे गर्यो,’ हस्तमालीले भनिन्, ‘तर, बिहे गरेदेखि कहिल्यै राम्ररी सँगै बसिनम् ।’ पञ्चबहादुरका अन्य श्रीमतीबाट दुई छोरा र तीन छोरी छन् । हस्तमालीबाट भने एउटी छोरी भएको छ ।
विवाद मिलाउँदामिलाउँदा गाउँका अगुवा र प्रहरीसमेत दिक्क भएपछि बाध्य भएर जिल्ला अदालत आएको हस्तमालीले बताइन् । हस्तमालीले आइतबार नै जिल्ला अदालत रोल्पामा एकतर्फी मुद्दा दायर गरेकी छिन् । ‘अहिलेसम्म उसको कुटाइ–पिटाइ सहेँ,’ हस्तमालीले भनिन्, ‘मर्नेवेलासम्म कति सहनु, केही नलिएर सम्बन्धविच्छेद गर्दै छु ।’
उनीहरूको विवाह कहिले भएको भन्नेसमेत यकिन छैन । छोरी जन्मिएको स्मरण गर्दै हस्तमाली भन्छिन्, ‘त्यस्तै २५–३० वर्षजति भयो होला बिहे गरेको ।’
कुटाइबाट तीन महिना थला हस्तमालीले श्रीमान् पञ्चबहादुर वलीको कुटाइबाट तीन महिना थला परेको बताएकी छिन् । ‘पहिले–पहिले रक्सी खाँदै कुट्दै गथ्र्यो,’ उनले भनिन्, ‘तीन महिनासम्म छोरीको घरमा थलिएँ ।’
अहिले भने पञ्चबहादुरलाई टिबीरोग लागेकाले रक्सी छोडेको छोरी कमला वली बताउँछिन् । रक्सी छोडे पनि कुट्न नछोडेको उनले बताइन् । पञ्चबहादुरका अरू श्रीमतीका छोराछोरीले समेत कुटपिट गर्ने, अपमान गर्ने गरेको हस्तमाली बताउँछिन् ।
अब छोरीसँगै बस्ने जिल्ला अदालत रोल्पामा एकतर्फी सम्बन्धविच्छेदको मुद्दा दायर गरेपछि हस्तमालीलाई अदालतले १३ चैतमा बोलाएको छ । ‘अब १३ चैतमा आउँछु,’ हस्तमालीले भनिन्, ‘छिटो धागो छिने हाइसुख हुन्थ्यो ।’ श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि छोरीसँगै बस्ने उनको योजना छ ।
७१ वर्षीया हस्तमाली र ७० वर्षीय पञ्चबहादुरबीचको सम्बन्धविच्छेद अनौठो भएको लेखापढी व्यवसायी गणेश बुढा बताउँछन् । ‘उनीहरूको आग्रहअनुसार नै सम्बन्धविच्छेदको कुरा अघि बढिरहेको छ,’ बुढाले भने, ‘एकतर्फी मुद्दा दायर गरेकाले केही समय अझै लाग्छ ।’