दमक स्थित अटो प्लाजाका लेखापालले चेकमा किर्ते गरेर पाँच करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेको कुरा बाहिर आएको छ । लेखापाल मोतिराम अधिकारीले चेकमा अंक र अक्षर थपी किर्ते गरेर अटो प्लाजा दमकको बैंक खातामा भएको पैसा निकालेका थिए ।
लेखापाल अधिकारीले दमक–१० का अशोक थापा र बबरजंग थापा दाजुभाइको फार्मबाट रकम हिनामिना गरेका हुन् । उनले प्लाजको एनआइसी एसिया बैंकमा रहेको खाताबाट विभिन्न मितिमा रकम झिकेर ५ करोड भन्दा बढी हिनामिना गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी राजन लिम्बूले बताए । उनलाई फागुन १ गते पक्राउ गरिएको भएपनि घटनका बारेमा भने आइतबार मात्र सार्वजनिक गरिएको थियो ।
मालपोतको राजश्व तिरेको भनि ५५ हजार ५ सय लेखेर सञ्चालकलाई चेकमा हस्ताक्षर गरार लेखापाल अधिकारीले चेकमा अंक र अक्षर थपेर ५ लाख ५५ हजार ५ सय रुपैयाँ झिकेको पाइएको छ ।उनले पिट्टी क्यास ४ हजार ४५० रुपैयाँको चेकबाट अंक र अक्षर थपेर १५ लाख ४ हजार ४५०, आरपीआर इन्टरकन्टिनेन्टललाई सापटी भुक्तानी ६९ हजार ९ सय रुपैयाँको चेकबाट ९ लाख ६९ हजार ७ सय, अर्को पिट्टी क्यास २ हजार ५९० को चेकबाट १४ लाख २ हजार ५९० रुपैयाँ बैंकबाट झिकेको सञ्चालक बबरजंग थापाले जानकारी दिए । थापाका अनुसार चेकमा अंक र अक्षर थपेर पटक–पटक बैंकबाट लाखौं रुपैयाँका दरले निकालेको पाइएको छ । थापाले भने, ‘उनले धेरै पटक पैंसा बैंकबाट झिकेको पाइयो । अहिले हामीले बैंकलगायत अन्य क्षेत्रको कागजपत्रबाट खोजी गर्ने काम गरिरहेका छौं ।’
सञ्चालक थापाका अनुसार बैंकबाट नगद झिक्नुका साथै दुई वटा नयाँ गाडी समेत अवैध रुपमा बेचेर नगद लगेका छन् । कार्यालयको ४२ नम्बर भ्याट बिल काटेर ५१ लाख ५६ हजार मूल्यको बा १६ च ४५७५ नम्बरको क्रेटा गाडी बेचेका छन् । त्यस्तै अधिकारीले २६ लाख ५६ हजार मूल्यको बा १५ च ३६१३ नम्बरको आई–टेन गाडी समेत बेचेको सञ्चालक थापाले बताए । थापाले भने,‘उनले (अधिकारीले) चेक काट्दा अगाडि केही भाग खाली राखेर चेक काट्दो रहेछ । हामीले हस्ताक्षर गरिसकेपछि खाली राखेको ठाउामा अंक र अक्षर भरेर रकम झिकेको पाइयो ।’ अधिकारी २०७१ जेठदेखि थापाको अटो प्लाजामा लेखापालका रुपमा कार्यरत थिए ।
थापा दाजुभाईको अटो प्लाजा, अटो प्लाजा कन्सर्न, अटो प्लाजा इन्जिनियरिङ, खुसी इन्टरकन्टिनेन्टल र आरपीआर इन्टरकन्टिनेन्टलका नाममा रहेका बैंक खाताबाट लेखापाल अधिकारीले रकम झिकेर लगेको थापाले बताए । सञ्चालकहरुले बैंकमा रकम नभएको र दुई वटा गाडी हराएको थाहा पाएपछि लेखापाल अधिकारी गत माघ ६ गतेदेखि बेपत्ता भएका थिए । अधिकारीलाई फागुन १३ गते दमकबाटै पक्राउ गरेको डिएसपी लिम्बुले जानकारी दिए । अधिकारीलाई ठगी मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान गर्ने कार्य भइरहेको डिएसपी लिम्बुले बताए ।