मलेखु /महिलामाथि हुने सम्पूर्ण हिंसा र दुव्र्यवहारमध्ये सबैभन्दा बढी शारीरिक हिंसा हुने गरेको पाइएको छ । जिल्लाका मूलपानी, नीलकण्ठ, नलाङ, खहरे र भूमेस्थान गाविसमा सञ्चालित महिला सुरक्षित स्थानसम्बन्धी समीक्षा कार्यक्रममा सहयात्री समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले आज आयोजित कार्यक्रममा महिलामाथि शारीरिक हिंसा हुने र तिनलाई स्रोत साधनबाट वञ्चित गरिएको बताए। सन् २०१६ जुनदेखि २०१७ फेब्रुअरीसम्म भएका घटनामध्ये ३७ प्रतिशत घटना स्रोतसाधनमाथि वञ्चित गरिएको पाइएको छ । शारीरिक हिंसा ३०, भावनात्मक रुपमा दुव्र्यवहार १८, यौनजन्यदुव्र्यवहार ७, बलात्कार ५ र अन्य किसिमको हिंसा ३ प्रतिशत रहेको जनाइएको छ । सो अवधिमा सहयात्री समाजले काम गरेका क्षेत्रमा दुई सय ६५ घटना विवरण तयार गरी विश्लेषण गरिएको थियो । जिल्ला वन कार्यालयले महिला सुरक्षाघर भत्काएपछि जिल्लामा समस्या परे पनि सो अवधिमा एक सय ३९ जनालाई पुनःस्थापना गरिएको बताइएको छ । प्रजिअ उमेशकुमार ढकालले महिला सुरक्षाघर निरन्तर चलाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।