[caption id="attachment_10998" align="alignnone" width="1024"] Nepali Congress President Sher Bahadur Deuba[/caption]

बिर्तामोड / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान पूर्ण कार्यान्वयन गर्न चुनाव अपरिहार्य रहेको बताएका छन् । उनले संविधान संशोधनको प्रस्ताव अघि बढिसकेकाले स्थानीय निकायको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गरे । ‘तपाईंहरु ढुक्क हुनुहोस्, निर्धारित मितिमै सरकारले निर्वाचन गराउने छ’, काङ्ग्रेस झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘मुलुक चुनावमय भएको छ, तपाईंहरु चुनाव जित्नका लागि आजैदेखि लाग्नुहोस् ।’ उनले नेकपा एमालेले पहाडे र मधेशी समुदायबीच झगडा गराउने काम गरेको आरोप लगाए । ‘मधेशी र पहाडे दुवै नेपाली नागरिक हुन्’, उनले भने, ‘सीमामा बसेर सीमाको सुरक्षा गर्ने मधेशी समुदायलाई हामीले शङ्का गर्नु हुँदैन ।’ कार्यक्रममा काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएका थुप्रै समस्या र चुनौतीलाई समाधान गरेर काङ्ग्रेस अघि बढ्नुपर्ने बताए । उनले काङ्ग्रेस अभिभावक भएकाले पनि त्यो जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेको बताए । कार्यक्रममा काङ्ग्रेस नेता तथा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय निकायको चुनावको मिति घोषणा भइसकेकाले चुनाव जुनसुकै अवस्थामा भएरै छाड्ने बताए । उनले जनतामा अधिकार पु¥याउन पनि तीन तहकै निर्वाचन आवश्यक रहेको चर्चा गरे । कार्यक्रममा पूर्व कानूनमन्त्री नरेन्द्रविक्रम नेम्वाङ, काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, सांसद सरिता प्रसाईं, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला अध्यक्ष सुशीला ढकाल लगायतले बोलेका थिए । काङ्ग्रेस झापा सभापति उद्धव थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव प्रेम सम्वाहाम्फेले गरेका थिए ।