काठमाडौं/ नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले चुनाव स्थगित गर्नुपर्ने माग राख्दै संघीय समाजवादी फोरम अध्यक्षसँग मिलेर संयुक्त वक्तव्य जारी गरेलगत्तै नयाँ शक्तिमा विवाद भएको छ ।
पार्टीका केन्द्रीय परिषदका ९ जना सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गर्दै संयोजक भट्टराईको कदमको विरोध गरेका छन् ।
पार्टीभित्र संस्थागत छलफल नगरी संयोजकले स्वेच्छाचारी ढंगले वक्तव्य निकालेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । पार्टीलाई चुनाव विरोधी देखाउने गरी संयोजकले कदम चालेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
‘१९ वर्षपछि संविधान बमोजिम हुन लागेको स्थानीय तहको निर्वाचनको कार्यतालिक समेत सार्वजनिक भइसकेको र यसको संविधान संशोधन वा अन्य कुनै विषयमा सरोकार छैन,’ नौ नेताको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कुनै क्षेत्र वा समुदायको एजेण्डा मात्र बोकेर हिड्ने पार्टी यो होइन ।
नयाँ शक्ति पार्टी नै चुनाव विरोधी देखाउने गरी आएको सो वक्तव्यमा सही गर्ने एकल निर्णय तत्काल फिर्ता लिन नयाँ शक्ति पार्टी नेपालको संयोजक डा बाबुराम भट्टराईलाई आह्वान गर्छौं ।’
पार्टीको आगामी केन्द्रीय बैठकमा स्थानीय निकाय चुनावबारे संस्थागत निर्णय गरेर मात्र अघि बढ्न उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
संयोजक भट्टराईको कदमप्रति आपत्ति जनाउनेमा केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई, मोहन बम, देव लिम्बु, हरिराम रिमाल, चन्द्रदेव ओझा, युवि घिमिरे, सहदेव न्यौपाने, असोकराज ढुंगेल र मुनिन्द्र बस्नेत छन् ।