कञ्चनपुर/आफूहरुलाई राज्यले बेवास्ता गरेको भन्दै राजमार्ग बन्द लगायतको आन्दोलनमा उत्रिएका कञ्चनपुरका आरक्षपीडित र प्रहरीबीच झडप भएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पीडितहरुले पूर्व पश्चिम राजमार्गको अत्तरिया-महेन्द्रनगर खण्डमा पर्ने कलुवापुरमा प्रदर्शन गर्दै राजमार्ग बन्द गरेपछि खुलाउन गएको प्रहरीसँग झडप भएको हो । आक्रोशित आन्दोलनकारी प्रहरीमाथि जाइलागेपछि भिड नियन्त्रणमा लिन लाठीचार्जका साथै सात राउण्ड हवाइफायर गरेको कञ्चनपुरका एसपी प्रकाश चन्दले जानकारी दिए ।
झडपमा दुवैतर्फ केहि घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीका तर्फबाट सात जनालाई पक्राउ गरेको छ । आरक्षपीडितको आन्दोलनले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । २०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा तत्कालील शुक्लाफाँटा बन्यजन्तु आरक्षभित्र रहेका जनतालाई आरक्षबाहिर जमिनको व्यवस्था गरी सार्ने भनिएपनि उनीहरुले जमिन पाएका थिएनन् ।
त्यतिबेलैदेखि आरक्षपीडितहरु आन्दोलनमा थिए । सरकारले जग्गा उपलव्ध नगराएपछि उनीहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमामा पर्ने कलुवापुरमा बस्दै आएका थिए ।