काठमाडौं/ एमालेले व्यवस्थापिका– संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पारित हुन नदिने निर्णय गरेको छ ।

सरकारले चुनाव घोषणा गरेपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रममा सन्दर्भमा छलफल गर्न बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरूलाई उक्त जानकारी गराएका हुन् ।

संविधान संशोधन विधेयक पेश गर्नै नदिने अडानबाट पछि हट्दै विधेयक प्रक्रियामा लैजान दिने तर पारित हुन नदिने रणनीतिमा पुगेको हो।

सांसद शेरबहादुर तामाङका अनुसार बुधबारको बैठकमा अध्यक्ष ओलीले चुनाव घोषणा गर्नु सकरात्मक कुरा भएको बताउँदै सरकारलाई चुनाव हुने सुनिश्चितता गराउन पनि आग्रह गरेका थिए ।

चुनावको घोषणा हुनु आंशिक सफलता मिलेको एमालेको निष्कर्ष रहेको तामाङका भनाई छ ।

पार्टीले २१ फागुनदेखि सुरु गर्न लागेको मेची–महाकाली जागरण अभियानमा सबै पार्टी पंक्ति परिचालन गर्न पनि अध्यक्ष ओलीले सांसदहरूलाई निर्देशन दिएको सांसद रामेश्वर फुयालले जानकारी दिए ।

फुयालका अनुसार मंगलबार जनकपुरमा मधेसी मोर्चाले एमालेको कार्यक्रम विथोल्न खोजेको घटनाप्रति ओलीले खेद व्यक्त गरेका थिए ।

विधेयकका विषयमा ९ दलको बैठक बसेर थप निर्णयले लिने पनि एमालेको भनाइ छ ।