काठमाडौँ/ सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक अगाडि बढाउन दिने–नदिनेबारे प्रमुख प्रतिपक्षी एमालेले बुधबार निर्णय गर्दै छ । त्यसबारे छलफल गर्न उसले बिहान ११ बजे संसदीय दलको बैठक र दिउँसो विपक्षी नौ दलको बैठक बोलाएको छ ।
संशोधनप्रति असहमति जनाउँदै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । तर, स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि एमाले संशोधन प्रक्रिया अगाडि बढाउन लचिलो हुने विश्वास सरकारको छ ।
‘हामी ठ्याक्कै प्रक्रियामै गइहाल्ने स्थितिमा पुगिसकेका छैनौँ, नौ दलको आधिकारिक अडानमा अडिग छौँ,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘चुनावको मिति घोषणापछि वातावरणमा परिवर्तन आएको छ, यस विषयमा दलको बैठक र नौ दलबीच पनि साझा धारणा बनाएपछि मात्र हामी निर्णयमा पुग्छौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा पनि अन्य दलहरुले एमालेलाई लचिलो बन्न आग्रह गरेका थिए । तर, एमालेले संसोधनमा सघाउन नसकिने बताएको थियो ।