काठमाडौँ / नेपाली सेनाले अस्थिर राजनीतिका कारण केही विखण्डनकारी समूहका गतिविधिहरुले समग्र मुलुकको सुरक्षा अवस्था कमजोर भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ। नेपाली सेनाले विशेष गरी तराई मधेसमा सक्रिय केही अतिवादी समूहले मुलुकको समग्र सुरक्षा अवस्थालाई नै चुनौती दिइरहेको र उक्त समूहलाई अमुक राजनीतिक दलहरूले अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको  छ ।

जंगी अड्डामा मङ्गलवार आयोजित पृतनापति समन्वयात्मक बैठकमा उपत्यकासहित पाँचवटै पृतनापतिहरुले आ-आफ्नो क्षेत्रको रिपोटिङ गरेका थिए। बैठकमा ती अतिवादी र विखण्डन चाहने समूहलाई नेपालमा अस्थिरता सिर्जना गर्न चाहने आन्तरिक र वाहिय शक्तिहरूको समेत संलग्न रहेको बारे छलफल भएको सैनिक उच्च स्रोतले जनाएको छ।

पृतनापतिहरुले बैठकमा तरल र अस्थिर राजनीतिका कारण नै मुलुको सुरक्षा अवस्था कमजोर हुँदै गएको रिपोटिङ गरेको स्रोतले बताएको छ। बैठकमा राजनीतिक दलहरूले अहिलेको तरल राजनीतिलाई हेलचेक्राइ गरिरहे अवस्था नियन्त्रणभन्दा बाहिर समेत जान सक्ने बताएको स्रोतले बताएको छ।

बैठकमा विशेष गरी तराई मधेसमा केही अतिवादी र विखण्डनकारी समूहले गरेका राष्ट्रियता विरोधी गतिविधि आपत्तीजनक भएको र त्यसलाई राजनीतिक दलहरूले उपयुक्त माध्यमद्धारा समाधन गर्नू पर्नेमा जोड दिएका छन्। बैठकमा सरकारले सोमबार घोषणा गरेको स्थानीय निकायको निर्वाचनका बारेमा समेत छलफल भएको स्रोतले बताएको छ।

बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दिनप्रति दिन सुरक्षा चुनौती थपिरहेको भन्दै सजग रहन निर्देशन दिएको स्रोतले बताएको छ । प्रधानसेनापति क्षेत्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘मुलुकको सुरक्षा अवस्थामा नयाँ नयाँ चुनौती थपिरहेका छन्। त्यसलाई सामना गर्न हरेक तरिकाले नेपाली सेना हाइ हलर्टमा बस्नुपर्छ।’

बैठक पछि सैनिक जन सम्पर्क निर्देशनालयले मङ्गलवार जारी गरेको विज्ञप्तिमा प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाले आफ्नो दक्षतालाई थप मजबुत बनाउन तालिम तथा वन्दोबस्तीमा विशेष जोड दिन निर्देशन दिएको उल्लेख गरेको छ।बैठकमा सम्बन्धित विभागहरुबाट पछिल्लो राजनीतिक र त्यसले सिर्जना गरेको सुरक्षा अवस्थाका बारेमा विश्लेषण तथा समीक्षा गरिएको थियो।