तेह्रथुम/ तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा पर्ने गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्रको तीनजुरे पाथीभरा डाडाँमा अत्याधुनिक सुविधासहितको बहुउदेश्यीय भ्यु–टावर बनाइने भएको छ ।यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि लालिगुराँस नगरपालिका–४ स्थित तीनजुरे पाथीभरा मन्दिर नजिकै पर्यटन कार्यालय झापाले भ्यु–टावर निर्माण गर्न लागेको हो । चार तला हुने भ्यु–टावरको पहिलो तलामा सूचना केन्द्र, दोश्रो तलामा खुद्रा पसल, तेस्रो तलामा क्याफे र चौथो तलामा भ्यु प्वाइन्ट बनाइने पर्यटन कार्यालयले जनाएको छ ।
भ्यु–टावरको तेह्रथुमका सभासद भवानी प्रसाद खापुङले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको छ । दुई करोड १३ लाख रुपैयाँ लागतमा बन्न लागेको भ्यु–टावर निर्माण कार्य एक वर्षभित्र सक्ने गरी ठेक्का लागिसकेकाले छिट्टै काम सुरु हुने पर्यटन कार्यालय झापाका प्रमुख गणेश तिम्सिनाले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद खापुङले पर्यटन जिल्लाको आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो । उहाँले पर्यटन विकासबाट मात्रै अब जिल्लाको आर्थिक समृद्धि सम्भव भएको दाबी गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की लगायतले भ्यु–टावर निर्माणले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
यो क्षेत्रमा चैत बैशाखको समयमा गुराँस फुलेर ढकमक्क हुने हँुदा पर्यटकहरुको विशेष चाप हुन्छ । अन्य समयमा पनि कन्चनजंघा हिमालसम्म पुग्ने, तमोरमा र्याफ्टिङ तथा हिमशृंखलाहरु हेर्दै मनोरञ्जन लिनसकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बाक्लो छ । यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका लालिगुराँस, दुई दर्जन बढी ऐतिहासिक ताल पोखरी, अग्ला पहाड, सिमसार क्षेत्र, लोपोन्मुख जडीबुटी र बन्यजन्तु समेत पाइने भएकाले संरक्षण क्षेत्रको प्रस्ताव राखिएको छ ।