काठमाडौं/ सरकारले आउँदो वैशाख ३१ गते आइतबार स्थानीय चुनावको मिति घोषणा गरेलगत्तै राजनीतिले नयाँ मोड लिएको छ । तर घोषित मितिमा चुनाव हुन्छ कि हुन्न भनेर आशंका गर्नेहरु पनि छन् । राजनीतिले जे जस्तो मोड लिएपनि चुनावको लागि वैशाख ३१ गते उपयुक्त दिन भएको ज्योतिषीको हिसाब छ ।
‘समग्रमा ०७४ साल राम्रो वर्ष छ’ नेपाल पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भन्नुभयो, ‘यसअघिका वर्षहरुमा सरकारले गर्ने निर्णय कार्यान्वयन हुन गाह्रो हुन्थ्यो, तर ०७४ सालमा सरकारले गरेका महत्वपूर्ण निर्णय कार्यान्वयन हुने देखिन्छ ।’
वैशाख ३१ गते केतु नक्षत्र परेकाले केही ठाउँमा समस्या देखिने सम्भावना भएपनि समग्रमा त्यो दिन चुनावको लागि राम्रै रहेको उहाँले बताउनुभयो ।
मौसमविदका अनुसार वैशाखको अन्तिमबेला मौसमी हिसाबले पनि ठिकै बेला हो । त्योबेला प्रिमनसुनको सिजन हुने र प्रिमनसुनमा हावाहुरी र चट्याङ पर्ने भएपनि मौसमी गतिबिधिले चुनावलाई असर गर्ने देखिंदैनु मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो ।