काठमाडौँ/ सरकारले आज स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने भएको छ । अहिले बिहान बस्ने मन्त्रीपरिषद्को बैठकले संघीय संरचनाअनुसार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको मन्त्रीपरिषद्ले निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराए । राजधानीमा आजबाट जारी निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १३ महाधिवेशनको उद्घाटनपछि सम्बोधन गर्नेक्रममा प्रधानमन्त्रीले यस्तो खुलासा गरे । उनले भने, ‘आज मैले सरकारको तर्फबाट निर्वाचनको मिति घोषणा गर्दैछु । म यो कुरा यहाँ तपाईंहरुलाई प्रष्टसँग भन्न चाहन्छु ।’ सरकारले धेरै जटिलता र चुनौती भए पनि एकै चरणमा देशभरी नै स्थानीय तहको निर्वाचन गर्ने र प्रदेश र केन्द्रको निर्वाचन गर्ने आधार तयार गरिरहेको प्रधानमन्त्री दाहालले बताए ।
राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, भौगोलिक अखण्डतालाई कायम राख्दै संविधानको कार्यान्वयनको लागि निर्वाचनको मिति घोषणा गर्न लागिएको प्रधानमन्त्रीले बताए । म र मेरो सरकारले जे निर्णय गर्दैछ त्यसले आम नेपालीको शीर झुक्ने छैन भन्दै प्रधानमन्त्रीले विखण्डनवाद र अलगाववादको आफू घोर विरोधी भएकोले त्यो स्वीकार्य नहुने बताए । संविधान कार्यान्वयन मुख्य कुरा भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रकृयागत रुपमा समस्या समाधान गर्न संविधान संशोधन पनि अघि बढेकोले विरोध र समर्थनको बीचको बाटो खोज्नु परेको बताए । उनले भने, ‘अहिले संशोधन विधेयक पारित भएपछिमात्रै निर्वाचन गर्ने अन्यथा गर्न हुँदैन भन्ने एकातिर र अर्कोतिर संविधान संशोधनको कुरो गर्नै हुँदैन भन्ने दुईटा एस्ट्रिम पोइन्टबाट जान खोजेको छ त्यो विल्कुल वैज्ञानिक छैन भन्ने मेरो ठहर छ । त्यसरी गएर नेपाल राष्ट्रको अहिले हित गर्न सकिँदैन त्यसको बीचमा छ समाधान ।’ त्यसैकारणले संविधान कार्यान्वयनको लागि आज निर्वाचन घोषणा गर्न लागिएको उनले बताए ।
उनले अगाडि भने, ‘संविधान जुन जटिलता र चुनौतिको बीचबाट घोषणा गर्यौँ त्यसको कार्यान्वयन गर्नु र अहिले देखिएका समस्याको समाधान गर्नको लागि निर्वाचन घोषणा गरिएको हो । सबैले अब निर्वाचनको तयारी गर्न र सफल पार्न म आग्रह गर्दछु ।’ प्रधानमन्त्री दाहालले निर्वाचन नभएर संविधान कार्यान्वयन नभई हालको उपलब्धी उल्टिए धमिलो पानीमा माछा मार्न पाइन्थ्यो भन्ने पनि केही पक्ष रहेकोले तिनीहरुको शीर उठ्न नदिने प्रतिबद्धता व्यक्त गरे ।