
संखुवासभा/ जिल्ला लगत संकलन कार्यालय संखुवासभाले भुकम्पले क्षति पुर्याएका घरहरुको लगत संकलन कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । पुस २६ गते देखि सुरु गरेको संकलन कार्य जिल्लाका विभिन्न २३ वटा गाविसमा सकि सकेको लगत संकलन कार्यालय संखुवासभाका प्रमुख नारायण कार्कीले जानकारी दिए । संखुवासभाका २५ गाविसहरु मध्ये किमाथाङ्का गाविस भुकम्प प्रभावित नभएकोले निवेदन नपरेको र नुनढाकी गाविसमा संकलन कार्य बाँकी रहेको भएपनि फागुन मशान्त सम्ममा सकिने प्रमुख कार्कीले बताए । संकलन कार्यमा ५२ जना कर्मचारीहरु खटिएका छन् ।
भूकम्पले क्षति भएका घरलाई ५ तहमा वर्गिकरण गर्ने र वर्गिकरणका आधारमा ४ र ५ तहमा परेका घरलाई निर्माणका लागी ३ लाख र २ र ३ तहमा परेका घरलाई १ लाख मर्मत खर्च उपलब्ध गराउने सरकारको तयारी छ । पुर्निनर्माणका लागि ९ खर्ब ३८ अर्व लाग्ने अनुमान गरेको प्राधिकरणले व्यक्तिगत घर निर्माणका लागि मात्रै ३ खर्व भन्दा बढी लाग्ने जनाएको छ । तीन चरणमा बितरण गर्ने तयारी अनुसार जग निर्माण पछी ५० हजार, तला छापेपछी १ लाख र छाना लगाउने बेलामा १ लाख ५० हजार उपलब्ध गराउने सरकारको तयारी छ । सरकारले दिने ३ लाख अनुदानले मात्रै प्राधिकरणको मापदण्डभित्र रहेर घर निर्माण गर्न नसक्ने पीडितहरुको भनाइ छ । देशभर १७ वटा मोडलमा घर निर्माण हुनेछ ।