तेह्रथुम/मध्यपहाडी लोकमार्गले पुख्र्याैली थातथलोलाई सडक रेखाङ्कनभित्र पारेर आफुहरूलाई सुकुम्वासी बनाउन लागेको भन्दै म्याङलुङका बासिन्दाले आन्दोलन शुरु गर्ने भएका छन् ।

उनीहरूले मध्यपहाडी लोकमार्ग पीडित सरोकार समिति नै गठन गरेर लोकमार्ग अन्यत्रैबाट लैजानुपर्ने माग राख्दै आन्दोलन शुरु गर्ने भएका हुन् । समितिले बिहीबार म्याङलुङमा पत्रकार सम्मेलन गरी लोकमार्गलाई अन्यत्रबाट तर्काएर लैजानुपर्ने माग गरेको छ । आयोजनाले लोकमार्गको केन्द्र भागबाट दायाँबायाँ २५/२५ मिटर रेखाङ्कनभित्र आफ्नो जग्गा परेको पीडितले बताए ।

पाँचथरको चियोभञ्ज्याङबाट शुरु लोकमार्ग म्याङलुङनजिक आइपुगेपछि वरपरका बासिन्दाले लोकमार्ग अन्यत्रबाट तर्काएर लैजानुपर्ने माग गरेका हुन् । मध्यपहाडी आयोजनाले रेखाङ्कनभित्र पारेको जमीनमा लोकमार्ग विस्तार गर्दा हलीमेलादेखि म्याङलुङसम्मका करीब दुई सय परिवार विस्थापित हुने समितिका संयोजक लालबहादुर खत्रीले बताए ।