
उर्लाबारी/मोरङको राजघाट–१ स्थित अठियाबारीमा देखा परेको चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय ६२ वर्षीय टङ्कलाल धिमाल, ५० वर्षीय खुशिलाल धिमाल, वन कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल रहेका छन् । अठियाबारीस्थित नगेन्द्र लिम्बूको सिसौघारीमा बिहीबार अकस्मात् देखा परेको सो चितुवाको आक्रमणबाट दुईजना वन कर्मचारीसहित चारजना घाइते भएका छन् ।
घाइते धिमालद्वयको उपचार उर्लाबारीस्थित फार्मेसीमा र वन कर्मचारीको मङ्गलबारे अस्पतालमा उपचार गरिएको सेक्टर वन अधिकृत तारिणीप्रसाद चौधरीले बताए । गाउँमा चितुवा आएपछि गाउँलेको सुरक्षाका लागि वनरक्षक, नेपाल प्रहरी र गाउँले सक्रिय भएका छन् । चितुवालाई नियन्त्रणमा लिन आवश्यक तालीम प्राप्त जनशक्ति नभएका कारण चितवन निकुञ्जको प्रकृति संरक्षण कोषका सुटर टोली बिहीबार राति मात्र आउने भएको इलाका वन कार्यालयले जनाएको छ ।