पाँचकन्या/धरान मासु व्यवसायी संघ धरानको १३ औं अधिवेशन तथा ८ औं साधारणसभाले मदनकुमार तामाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
सङ्घको उपाध्यक्षमा पुष्कुमार राई, सचिवमा लक्ष्मण कुरुङभङ लिम्बू, सहसचिवमा साजन शाही, कोषाध्यक्षमा बमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सङ्घको सदस्यहरुमा समीर तामाङ, भलमान तामाङ, शारदा श्रेष्ठ, बखत राई, सीताराम राई, शान्तिलक्ष्मी शाक्य, नेत्रबहादुर देवान, टिना कार्की रहेका छन् । कार्यक्रममा भूतपूर्व अध्यक्ष भुपालमान शाही, गणेश खड्गी, मोहनकाजी खड्गी, कमल शाही, श्यामकुमार लामालाई सम्मानपत्र र खदाले सम्मान गरिएको थियो ।
धरान उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनाथ महतो विशेष अतिथि थिए । कार्यक्रम पूर्व अध्यक्ष गोपाल खड्गीको अध्यक्षतामा सम्पन्न भएको थियो । निर्वाचित अध्यक्ष तामाङले धरानको मासु व्यवसायी, धरान उपमहानगरपालिका कार्यालय र पशु सेवा कार्यालयको सहकार्यमा धरानको मासु व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘नयाँ कार्य गर्न आफैंबाट सुरु गर्नुपर्छ भनेर म आफैं लागिपरेको छु’, भेटमा उनले भने, ‘अबको धरानको मासु व्यवसाय सानो पसल भएपनि सुधारिएको र मापदण्ड पुगेको हुनेछ । यसमा सबै व्यवसायीले साथ दिनुहुनेछ भन्ने आशा गरेको छु ।’ उनले धरानको मासु व्यवसाय व्यवस्थित हुनु भनेको गौरवको विषय भएको बताउँदै व्यवसायीहरुलाई मापदण्ड, दर्ता प्रक्रिया गरेर वैधानिक बनाउन सुझाव दिए ।