काठमाडौँ/ ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतको नेतृत्वमा ‘जम्बो’ टोलीले ४ सय मेगावाट क्षमताको नलसिंगाड जलाशययुक्त विद्युत् आयोजनाको पैसामा अस्ट्रेलियाको शयर गर्ने भएको छ । ‘ठूला जलाशययुक्त आयोजनाका ड्यामहरूको स्थलगत अध्ययन’ को नाममा उनीहरू अस्ट्रेलिया जान लागेका हुन् । १५ सदस्यीय भ्रमण टोलीमा अधिकांश नलसिंगाड आयोजनासित असम्बन्धित राजनीतिकर्मी, मन्त्रीका स्वकीय सचिव र प्रशासनिक अधिकारी धेरै छन् । टोलीमा चार वर्षे म्याद सकिई आगामी फागुन १५ मा अवकाश पाउन लागेका नलसिंगाड आयोजना विकास समितिका अध्यक्ष शेरबहादुर शाही र तीन सदस्य कृष्णप्रसाद शर्मा, ज्ञानेश्वर कार्की र शम्भुबहादुर श्रेष्ठसमेत छन् । टोलीले फागुन ६ देखि १६ गतेसम्म अस्ट्रेलियाको भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष शाही र तीन सदस्यले अस्ट्रेलिया भ्रमणकै क्रममा पदावधि सकिई अवकाश पाउनेछन् । ऊर्जा मन्त्रालयका प्रशासन शाखाका उपसचिव प्रह्लाद सापकोटा, ऊर्जामन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव, नलसिंगाड सरोकार समितिका एक पदाधिकारीसमेत भ्रमण टोलीमा छन् । विकास समितिमा ‘टेक्नोलोजी ट्रान्सफर’ शीर्षकमा ठूला ड्याम निर्माणमा संलग्न हुनुपर्ने प्राविधिक अधिकारीलाई अध्ययन भ्रमणमा पठाउनका लागि २ करोड रुपैयाँ बजेट छ । त्यही रकम खर्चेर नलसिंगाड विद्युत् आयोजना विकास समितिका पदाधिकारी र कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले आफू र असम्बन्धित व्यक्तिलाई अस्ट्रेलिया र अमेरिकाको क्यालिफोर्नियामा अध्ययन भ्रमणमा जाने कार्यक्रम बनाएका हुन् । क्यालिफोर्नियामा अहिले हिउँ परिरहेकाले त्यहाँ अध्ययन भ्रमण जाने तालिका चाहिँ पछाडि सारिएको छ । मन्त्रिपरिषद्ले ऊर्जा राज्यमन्त्रीको अस्ट्रेलिया भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ भने बाँकी आयोजनाका पदाधिकारी, प्रशासकीय अधिकारी तथा स्वकीय सचिवहरूको भ्रमण भने ऊर्जा मन्त्रालयस्तरीय निर्णयबाट स्वीकृत गराइएको छ । मन्त्रालयले सरकारी बजेटमा विदेश भ्रमणमा टोली पठाउँदा अर्थ मन्त्रालयसित सहमतिसमेत नलिएको जानकारी स्रोतले दियो । सरकारी बजेटमा विदेश भ्रमणमा पठाउन अर्थमन्त्रालयको अनिवार्य रूपमा सहमति लिनुपर्ने कानुनी व्यवस्था छ ।