धरान/नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) काे नियुक्तलाई लिएर नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र गृहमन्त्री बिमलेन्द्र निधिबीच मतभेद सुरु भएको छ ।

गृहमन्त्री निधि आइजिपीमा नवराज सिलवाललाई लानु पर्ने तर्क अघि सार्दै आएका छन् भने सभापति देउवा भने जयबहादुर चन्द नियुक्त गर्नु पर्ने तर्क गरेका छन् । जसका कारण दुई बीचमा मतभेद बढेर गएको हो ।
प्रहरी महानिरीक्षक नियुक्तीको विषयले गर्दा बढेको मतभेद साम्य हुने तरखरमा रहेको छ ।
देउवाको रुचि अनुसार चन्द नै प्रहरी महानिरीक्षक बन्ने सम्भावना बढेर गएको गृहमन्त्रालय उच्च स्रोतले बताएको छ । गृहमन्त्री निधि र डिआइजी चन्दबीच बिहीवार नै भेट गरेका छन् ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कार्यकाल फागुन २ गते सकिने भएकोले मन्त्रिपरिषद्को बिहीवारको बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने अपेक्षा गरिएको थियो ।