काठमाडौँ/प्रधानमन्त्री प्रचण्डले नेपालमा बिदा र दिवस धेरै भएको भन्दै यसलाई घटाउनुपर्ने सुझाव दिनुभएको छ ।
प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक विकासमा पछि तर बिदामा सबैभन्दा अघि हुने स्थिति आउनु बेठीक भएको टिप्पणी गरे ।
उनले भने, “हामी कहाँ क्रान्ति पनि धेरै नै भए । २००७ साल, २०२८ साल, २०४६ साल, २०५२ साल, २०६३ सालमा क्रान्ति भएको छ । सबै जातजाति भाषा संस्कति पनि हाम्रा धेरै भए । तिनलाई पनि बिदा दिनुपर्ने अवस्था रहेकाले यस विषयमा गम्भीररुपमा समीक्षा गर्ने बेला आयो ।’’
उनले सबैका लागि कुनै निश्चित दिनलाई साङ्केतिक दिनमा आफ्नो पर्व मनाउने भन्ने बारेमा सबैलाई सोच्न आग्रह गरे ।
बिदा र दिवस बढी हुँदा कार्य दिन घटेर आएकामा प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे । उनले भने, “सरकार यस्तो भएको छ कि जस्ले आएर जोडबल गरेर दिवस दिन प¥यो भन्यो त्यसलाई दिवस र बिदा दिने ।”
प्रधानमन्त्रीले प्रजातन्त्र दिवस निरस र औपचारिक जस्तो मात्रै नभई जनताको जीवन्त सहभागिता हुन आवश्यक रहेको बताएका छन्।
दिवसको दिन जनसहभागिता बढाउन आवश्यक पहल गर्न स्थानीय विकास मन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन समेत दिए।
निर्वाचन आयोगको निर्वाचन दिवससमेत फागुन ७ गते नै परेकाले दुबैलाई समानान्तररुपमा होइन, प्रजातन्त्र दिवसको पुरकको रुपमा मनाउन उनले सुझाव दिए।