
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा ६७ आँै राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा आज बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । फागुन ६ गते काठमाडौँ उपत्यकाकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवम् व्यानर सजाई नगरको सरसफाइ तथा सजावट गर्ने र प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने तथा रेडियो नेपालबाट परिसंवाद चलाउने गृहमन्त्रालयको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ । फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बिहान सैनिक मञ्च टुँडिखेलमा मूल समारोहको आयोजना हुनेछ । सोही दिन बिहान सेनाले विगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने तथा सहिदको आत्माको चीरशान्तिको कामनाका साथ पूजापाठ र प्राथनाको कार्यक्रम गरिनेछ । टुँडिखेलमा आयोजना हुने ६७ आँै राष्ट्रिय प्रजातन्त्र दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, मूल समारोहमा समितिका एवम् प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, संवैधासनियक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीहरुलगायतको उपस्थिति रहनेछ । राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, जङ्गी, संस्थानका कर्मचारी उद्योगी, व्यवसायी र सर्वसाधारणको उपस्थितिमा भव्यरुपमा कार्यक्रम मनाउने बैठकले निर्णय गरेको छ । बैठकले प्रजातन्त्र दिवसलाई सफल तुल्याउन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की संयोजक रहेको प्रचारप्रसार समिति गठन गरेको छ । बैठकमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले प्रजातन्त्र दिवसलाई सफल तुल्याउन गठन गरिएको समिति र कार्यक्रमबारे जानकारी गराएका थिए। १०४ वर्षे जहानिया राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिन २००७ फागुन ७ गतेको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।