काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीका सदस्य सरकारमा रहे पनि पार्टीलाई सरकारको साझेदारी महसुस नभएको बताए । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले संविधान संशोधन लगायतका विषयमा सरकारले राप्रपालाई बेवास्ता गरेको हुँदा अब सरकारमा रहने कि नरहने प्रश्न उब्जिएको छ भने । अध्यक्ष लोहनीले भने, “पार्टी सरकारमा रहने वा नरहने भन्ने विषयको छिनोफानो कार्य सम्पादन समितिको आगामी बैठकले गर्नेछ ।” राप्रपाले अहिले संविधान संशोधनभन्दा निर्वाचनलाई प्राथकिता दिएको बताउँदै उहाँले भन्नुभयो – “छिट्टै निर्वाचनको मिति घोषणा गरी स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पार्टीको मान्यता छ ।” अध्यक्ष लोहनीले संविधान सम्पूर्ण नेपालीका लागि भएकाले यसमा चित्त नबुझेका कुरा सरकारले सुन्नुपर्ने तर अहिले संसद्मा पेस भएको संशोधन प्रस्तावका केहि बुँदा जायज नभएकाले संशोधन आवश्यक नभएको टिप्पणी गरे । “संविधान संशोधन राष्ट्रिय हितमा छैन, संविधान संशोधनको औचित्य पुष्टि नभएकाले राप्रपा त्यसको पक्षमा छैन”– उनले भने । राप्रपाको आगामी फागुन ६ देखि ७ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनले पार्टीको भावी रणनीति तय गर्ने अध्यक्ष लोहनीले बताए ।

रासस