विराटनगर/जग्गाको हदबन्दी लुकाउनकालागि जग्गाधनीले गरेको किर्ते र जालसाँचीका कारण विराटनगर–२२ का १ सय ७ घर परिवारको जमिनको स्वामित्व विवाद चर्किएको छ । जग्गा धनिसंग विभिन्न समय राजिनामा पास गरेर खरिद गरेको जमिन बिक्री गर्ने पक्षले नै दावी गरेपछि लालपुर्जा बोकेर पीडितहरु न्यायकालागि अघि बढेका छन् ।

२०२४ सालको मोहियानी हकबाट जमिन दिनुपर्ने भएपछि विराटनगरका ठाकुरप्रसाद कोइरालाले गरेको किर्ते तथा जालसाँचीबाट जमिन खरिद गर्ने निर्दोष नागरिकहरु अन्यायमा परेका हुन् । विराटनगरका ठाकुर प्रसाद कोइरालाले आफ्ना भान्जा आनन्द प्रसाद अज्र्यालको नाममा जग्गा हस्तान्तरण गरेका थिए । अज्र्यालले तत्कालै भारतीय नागरिक झरीलाल कायस्थलाई विक्री गरेका थिए ।

त्यस पछि मामा–भान्जा र खरिदकर्ता कायस्थको विवाद लम्बिँदै जाँदा अहिले त्यस ठाउँमा बसोबास गर्ने १ सय ७ घर परिवार लाजपूर्जा भएर पनि जग्गा छोड्नुपर्ने बाध्यताले पिरोलिएका छन् । उनीहरु सर्वोच्च अदालतको फैसला पनि आफुले जमिन खरिद गरी मालपोत कार्यालयबाट लालपुर्जा लिएको लामो समयदेखि हकभोग गरिरहेकाहरु न्यायकालागि सरकारका विभिन्न निकायको ढोका ढक्ढक्याउन वाध्य भएका हुन् । कोइरालाको ४ विगाहा ९ कठ्ठा जग्गालाई २५ सालमा आएको नापीको टोलीले पुनः आनन्द प्रसाद अज्र्यालको नाममा सदर गरिदियो । त्यसपछि आफ्ना बुबा कायस्थको जग्गा आफूले पाउनु पर्ने भन्दै झरीलालका छोरा सतिस चन्द्र कर्णले २७ सालमा मुद्दा हाले । जिल्ला तथा पुनरावेदन अदालतले सतिसको बुबाको विपक्षमा फैसला गरेपनि लामो समयपछि २०४९ सालमा सर्वोच्च अदालतले उनकै नाममा जग्गा रहेको भनि सदर गरिदियो ।

३ वर्षको हदम्याद राखेर फैसला भएको भएपनि कर्णले आफ्नो नामको लालपूर्जा नबनाएपछि पुनः अज्र्यालले आफ्नो दाबी गर्दै लालपूर्जा बनाए । आफ्नै नाममा लालपूर्जा बनाएपछि अज्र्यालले जग्गाको किनबेच गर्न थाले । सोही बेलादेखि त्यहाँ जग्गा किन्दै गएर बसेका सर्वसाधरणलाई भने त्यसबेला झड्का लाग्यो सतिसले पुनः ०७२ सालमा हालेको मुद्दाको फैसला जिल्ला अदालतले उनकै पक्षमा सुनाइदियो । अदालतको फैसला भइसकेपछि सतिसले उक्त जग्गा हाल मिरा कुमारी सिंह र अनिता कुमारी रौनियारको नाममा सारेका छन् । यता अज्र्यालबाट सोही जग्गा खरिद गरेर बस्ने सर्वसाधारण भने सिरानीमा लालपूर्जा राखेर बसेपनि सिंह र रौनियारले दिनदिनै दिने धम्की र त्रासका कारण जग्गा छोड्नु न समाउनु भएका हुन् ।

आनन्द अर्यालले जबर्जस्ती गरेका कारण आफूहरु घरवास बिहीन हुनुपरेको सर्वसाधरण बताउँछन् । ‘उतिबेला १ लाख, ७० हजार रुपैयाँ कट्टाले खरिद गरेको जग्गाको भाउ अहिले १० गुनाले वृद्धि भएको छ,’ पीडित सर्वसाधरण सम्भु ठाकुर बताउँछन्, ‘आनन्द अज्र्यालले पुरानै रकम फिर्ता गरिदिन्छु भनेका छन्, त्यसरी हामीलाई कसरी न्याय हुन्छ ?’जग्गाको हदबन्दीबारे र मुद्दा मामिलाबारे जानकारी नराख्ने आफूहरुलाई अज्र्यालले फसाएको सर्वसाधरणको दाबी छ । ‘जग्गा खरिद गरेको १५÷२० वर्ष भयो, हामीले प्लाष्टिक टिपेर, रिक्सा चलाएर कमाएको पैसाले जग्गा खरिद ग¥यौं,’ सर्वसाधरण रसिद मियाले बताए, ‘हामीसँग लालपूर्जा छ, नक्सा पास छ, हामीलाई सुख चयनले गरिखान दिएनन्, गरिव गुरुबालाई विचल्ली पारिदिए ।’

भू–माफीयाको चलखेलमा आफूहरु सिकार भएको बताउँदै उनीहरुले न्यायका लागि जान पनि आफूहरुको कुनै ठाउँ नभएको बताएका छन् । ‘रिक्सा कुदाएर, प्लाष्टिक टिपर जग्गा किन्यौं, अहिले श्रीमानको पनि मृत्यु भए, लालाबाला लिएर निस्कि भनेर धम्की दिन्छन्,’ सोही ठाउँकी पीडित नुजरेन खातुन लालपूर्जा देखाउँदै भनिन्, ‘घर डोजर लगाएर भत्काइ दिन्छु भन्छन्, कहाँ जाउँ ।’ ‘आफूहरुलाई मोही लाग्छ या विवाद छ उजुर बाजुर छ भन्ने थाहा भएको भए जग्गा खरिद गर्दैनथ्यौं’, ६५ वर्षीय मोहम्मद तैयाव बताउँछन्, ‘अज्र्यालको पार्टनर सतिसलाल कर्णले हामीमाथि अन्याय गरे ।’

यता, सोही ठाउँका सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर शान्ति सुरक्षाको माग गर्र्दै ज्ञापन पत्र दिएका छन् । ज्ञापन पत्रमा सतिशचन्द्र कर्णले जग्गाको भाउ वृद्धि भएसँगै लोभ गरेर अदालतबाट आफ्नो पक्षमा फैसला गराएको दाबी गरिएको छ । ‘हामी बसि आएको घरमा बारम्बार प्रहरीहरु पठाई त्रसित बनाइरहेको हुँदा संविधानले दिएको बाँच्न पाउने तथा बासस्थान गर्न पाउने हकको उपभोग गर्नबाट बञ्चित छौं,’ ज्ञापन पत्रमा भनिएको छ, ‘साविक कित्ता नम्बर १८३ को कित्ताकाट भई कायम भएका कित्ताहरुमा भइरहेको घर समेत नदेखाई भित्र भित्रै मिलीभगत गरी विक्री गर्ने काम भएको छ ।’

सर्वसाधरणले आफ्नो नाममा आएको भन्दै मिरा कुमारी सिंह विन र अनिता कुमारी रौनियारले विभिन्न व्यक्तिको प्रयोग गरी तर्साउने तथा घरबास उठाउने प्रयास गरिरहेको कारण शान्ति सुरक्षा कायम गर्न माग गरेका छन् ।पीडितहरुले दावी गरेको पीडिक पक्षले भने तत्कालिन अबस्थामा बिक्री गरेको जमिनको मूल्य अहिले फिर्ता गर्ने तर जमिन नछोड्ने बताएपछि स्थानीयहरु आक्रोशित भएका छन् । उनीहरुले किर्ते जालसाँज गर्नेलाई कारवाही नभए जीवनमरणको संघर्ष गर्ने बताएका छन् ।