काठमाडौं / निर्वाचन आयोगमा एक सय १२ दल दर्ता भएका छन् । सबै दल सबै जिल्लामा सक्रिय छैनन् । सबैभन्दा बढी काठमाडौंमा ४५ र सबैभन्दा कम मनाङमा ६ दल सक्रिय रहेको निर्वाचन आयोगको तथ्यांक छ ।
आयोगले १७ माघभित्र दलहरूलाई अद्यावधिक हुन समयसीमा तोकेको थियो । जसअनुसार दलहरूले जिल्ला निर्वाचन कार्यालयमा अद्यावधिक गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जिल्लाबाट आएका नामावली अध्ययन भइरहेका कारण दलको पूर्ण विवरण तयार नभइसकेको बताए । आयोगका अनुसार काठमाडौंपछि पर्सामा ४० दल क्रियाशील छन् । ललितपुरमा ३६ र भक्तपुरमा ३५ दल सक्रिय छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
तराईमा धेरै दल संविधानको धारा २६९ अनुसार दर्ता भएका दलहरूको जिल्लागत विवरणअनुसार तराईमा धेरै दल क्रियाशील देखिएका छन् । १७ माघमा अद्यावधिक गरेको विवरणमा सर्लाही र सुनसरीमा ३७, मोरङ, धनुषा र बारामा ३६, रौतहटमा ३५, नवलपरासीमा ३२, झापा, सप्तरी, सिरहा र रुपन्देहीमा ३१ दल क्रियाशील छन् ।
सबैभन्दा कम मनाङ र मुस्ताङमा निर्वाचन आयोगका अनुसार सबैभन्दा कम दल मनाङमा क्रियाशील छन् । मनाङमा ६ र मुस्ताङमा ७, बाजुरा र रसुवामा ९ तथा डोटीमा १० दल क्रियाशील छन् । सोलुखुम्बु, लमजुङ, पाल्पा प्युठान, रोल्पा, डोल्पा, दैलेख र अछाममा ११ दल क्रियाशील रहेको आयोगको तथ्यांक छ । ताप्लेजुङ, खोटाङ, म्याग्दी, जाजरकोट, बझाङ र दार्चुलामा १२ दल क्रियाशील छन् ।