धरान / श्रीमान् विदेशमा रहने र डेरा लिई जनकपुर वा कुनै सहरबजारमा बस्ने कतिपय महिलाले परपुरुषसँग प्रेमसम्बन्ध राख्ने गरेको प्रहरीको भनाइ छ । श्रीमान् विदेशबाट आएकै दिन डिभोर्स माग्ने महिला पनि आउने गरेको प्रहरीको भनाइ छ । प्रहरी नायब निरीक्षक रामभगत भट्टराईले भने, ‘वैदेशिक रोजगारीले समाजमा विकृति बढाएको छ, नैतिकताको खडेरी गराएको छ, अधिकांश महिलाले आफन्त, छरछिमेकसँगै अनैतिक सम्बन्ध राख्ने गरेका छन्, सहरमा डेरा लिएर बस्ने महिलामा यो समस्या धेरै देखिएको छ ।’
यस सम्बन्धमा महिला तथा बालबालिका सेल अध्यक्ष सुभद्रा आलेले वैदेशिक रोजगारीले आर्थिक रूपमा सम्पन्न बनाए पनि समाजमा विकृति बढाएको बताइन् । ‘बिहे गरेको केही महिना पनि भएको हुँदैन, विदेश जान्छन्, त्यस्तोमा श्रीमान्–श्रीमतीबीचको प्रेम गहिरो हुन सक्दैन, श्रीमान्भन्दा परपुरुषको प्रेम गहिरो हुन जान्छ,’ उनले भनिन्, ‘प्रेममा परेका महिला अन्धा भई श्रीमान्को नै हत्या गर्नेसम्मका योजना बनाउन पछि पर्दैनन् ।’
यसमा बुहारीलाई घरमा सासू–ससुरालगायतले दिने मायाको कमी पनि कारण रहेको सेलकी पूर्वअध्यक्ष मीना केसीले बताइन् । विभिन्न बहानामा बुहारीलाई दुःख दिने तथा बुहारीका विषयमा विदेशमा रहेका छोरासँग राम्रो कुरा नगर्नेलगायतका कारण मानसिक तनावमा परी महिलाले परपुरुषसँग प्रेमसम्बन्ध बनाउन पुग्ने देखिएको उनको भनाइ छ । ‘श्रीमान् विदेश गएको वेला बुहारीलाई कसैसँग बोल्न नदिने वा बोलेको खण्डमा विभिन्न लाञ्छना लगाउने गरिन्छ,’ उनले भनिन्, ‘केही नगरे पनि बदनाम र गरे पनि बदनाम, यस्तोमा गरेर नै बदनाम किन नहुने भन्ने मनसाय बनाउन पुग्छन् ।’ यस्ता घटना रोक्न श्रीमान्, श्रीमती तथा घरपरिवारकै व्यक्ति सचेत हुनु अत्यावश्यक रहेको उनको भनाइ छ ।