काठमाडौं / सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै चुनावको मिति घोषणा गर्न नसके प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्ने चेतावनी दिएका छन् । माघभित्रै मिति घोषणा गरिए मात्रै वैशाखमा स्थानीय तहको निर्वाचन हुने उनले भनाई छ । यसरी नगरे जेठमा पनि चुनाव हुन नसक्ने भन्दै राजधानीमा मंगलबार भएको एककार्यक्रमा उनले भने, ‘प्रधानमन्त्रीले माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ, यदि गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको कुनै अर्थ हुँदैन, राजीनामा दिएर बाटो खोलिदिनुपर्छ ।’
चुनाव गराउन नसक्ने हो भने प्रधानमन्त्री प्रचण्ड पदमा बस्नुको कुनै अर्थ नहुने उनको भनाई थियो । खड्काले भने, ‘यो सरकार नै निश्चित उद्देश्य बोकेर गठन भएको हो, त्यही पूरा नगर्ने हो भने अर्थ हुदैन ।’
कांग्रेस नेता खड्काले मधेसी मोर्चाले पनि संशोधन प्रस्ताव प्रक्रियामा गएर पारित भएपनि वा नभएपनि अब चुनावमा भाग लिनुपर्ने उनको भनाई थियो । ‘एमालेले पनि प्रस्ताव प्रक्रियामा लैजान अवरोध गर्नुहुँदैन, र प्रस्ताव पास नभए पनि मोर्चा चुनावमा जानुपर्छ’ उनले भने, ‘प्रक्रियामा लैजानबाट यसलाई अड्काएर राख्नुहुँदैन, यसले गर्दा निर्वाचनको मिति घोषणा गर्नपनि गाह्रो हुन्छ ।’
संविधान संशोधनलाई प्रक्रियमा लैजाँदा प्रस्ताव पारित नभए आन्दोलनमा नजाने प्रतिबद्धता मधेसी मोर्चाले जनाउनु पर्ने कांग्रेस नेता खड्काले बताए ।
चुनाव घोषणा गरे सरकारसँग सम्बन्धविच्छेद गर्छौंःमहतो
यता सद्भावना पार्टीका राजेन्द्र महतोले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
मधेसी मोर्चाका नेता समेत रहेका महतोले भने, ‘संविधान संशोधन नभई चुनावको मिति घोषणा गरे, हामी कुनै हालतमा मान्दैनौं, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं, सरकारसँग सम्बन्धविच्छेद गर्छौं ।’
उनले अघि भने, ‘अब नो लटरपटर, पहिला परिमार्जनसहित संशोधन पास हुनुपर्छ ।’
प्रमुख दलहरु अन्तरिम संविधानबाट पनि पछि हटेको भन्दै उनले अब बेइमानी नचल्ने बताए । उनले अघि भने, यो चुनावरसुनाव देखाएर केही हुनेवाला छैन, चुनावको नाम जोडेर हामीलाई कसैलेपनि लोकतन्त्रको पाठ नपढाए हुन्छ ।’
सद्भावना अध्यक्ष महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले बेइमानी गरेको आरोप लगाए । ‘एमालेले धेरै बेईमानी गर्रुया तर, यसको हिसाबकिताब जनताले दिन्छन्, त्यसैको तयारी स्वरुप अहिले एमालेमुक्त मधेश बनाउने कुरा पनि भइरहेको छ’ उनले भनेका छन् ।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको उनले बताए ।
स्थानीय तह पुनर्संरचना भद्रगोल रहेको कुरा नुवाकोटको आन्दोलनले नै पुष्टि गरिसकेको उनको महतोको दाबी छ । उनले भने, ‘हेर्दै जानुहोस्, यस्तै हो भने नुवाकोटको जस्तो घटना ७५ जिल्लामै दोहोरिन्छ, नुवाकोटमा त गोली नै चल्यो, अब त्यो गोली कहाँ कहाँ चलाउने हो ?’