धरान/नेकपा (माले) ले देशमा भारतीय हस्तक्षेप बढ्दै गएको निश्कर्षसहित राष्ट्रिय राजनीतिक अभियान (रारा अभियान) थालेको छ ।

अभियान अनुरुप सुनसरी जिल्ला कमिटीले धरानमा आइतबार कोणसभा गर्दै भारतीय हस्तक्षेपको तिब्र विरोध जनाएको छ ।
रारा अभियानले राष्ट्रवादको पक्षमा जनलहर पैदा गर्नको लागि जिल्ला जिल्लामा यो कार्यक्रम ल्याइरहेको मालेका पोलिटव्युरो सदस्य एवं पूर्व संस्कृतिमन्त्री खगेन्द्र प्रसाईले बताए । उनले राष्ट्रको एकता, स्वतन्त्रता, सार्वभौमसत्ता, आर्थिक विकास, अखण्डता र सुरक्षालाई केन्द्रमा राखेर मेधशी तथा जनजाति समुदायका जायज मागहरुलाई सम्बोधन गर्नु पर्ने बताए । तर, तीन ठूला पार्टीहरुले यो कार्य हालसम्म नगरिरहेको बताए ।
सुनसरी जिल्ला सचिव कृष्णदास चौधरीले वैदेशिक हस्तक्षेपलाई रोक्नको लागि नेपाली जनताहरु सचेत हुनु पर्ने बताए । भारतीय शासकहरुको विस्तारवादलाई नेपाली जनताले अस्वीकार र विरोध गर्नु पर्ने बताए ।
भानुचौकको लोकतान्त्रिक चौतारीमा गरिएको कार्यक्रममा जिल्ला नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कोणसभामा विभिन्न नाराहरुसमेत लगाइएको थियो ।