इनरुवा/मधेशी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष तथा पूर्वगृहमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयन हुन नसके लोकतन्त्रबाट प्राप्त उपलब्धिहरू गुम्न सक्ने धारणा व्यक्त गरेका छन् ।थारु कल्याणकारिणी सभा, इनरुवाले आयोजना गरेको माघी महोत्सवको उद्घाटन गर्दै गच्छदारले समयमै प्रमुख दलहरूबीच सहमति गरी संविधान कार्यान्वयन गर्न नसके लोकतन्त्रका सबै उपलब्धिहरू गुम्न सक्ने खतरा औँल्याए । कार्यक्रममा बोल्दै अध्यक्ष गच्छदारले मधेशका जनता विभेदमा परेकोसमेत बताए । नेपालका प्रमुख दलका नेताहरूले मधेशी जनतालाई विभेदमा पारेर संविधान कार्यान्वयन गर्न खोजेकाले मुलुकमा नयाँ संविधान जारी भएको १५ महिना बितिसक्दा समेत कार्यान्वयनमा समस्या भएको अध्यक्ष गच्छदारको जिकीर थियो ।

गच्छदारले भने, ‘मधेशी जनता पुस्तौँदेखि शासक वर्गबाट विभेदमा छन् । यसले नयाँ संविधान कार्यान्वयन हुन नसकेको हो ।’ नयाँ संविधान कार्यान्वयनमा देखिएका चुनौती, राजनीतिक अस्थिरताका साथै विकास निर्माण ठप्प भएकालगायत सबै पक्षको जिम्मेवारी प्रमुख राजनीतिक दलका नेताहरूले लिनुपर्ने उनले बताए ।गच्छदारले ठूला पार्टीका नेताहरूले पार्टीगत स्वार्थ त्यागेर राष्ट्रिय सहमतिमा आउन नसकेका कारण मुलुकको अवस्था दिन प्रतिदिन ग्रसित बन्दै गएको बताए । मुलुकका समस्याप्रति ठूला दलका नेताहरू गम्भीर नभए अगामी निर्वाचनमा नेपाली जनताले त्यस्ता दलहरूलाई ठेगान लगाउने विश्वास उनले व्यक्त गरे ।

संविधान जारी गर्ने बेलामा भएको १६ बुँदे सहमति कार्यान्वयन नगरिएको कारण मधेशमा आन्दोलन शुरु भएको र यसले संविधान कार्यान्वयनमा समस्या भएको उनको भनाइ थियो । त्यसैगरी कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहताले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख तीन दलबीच सहमति, सहकार्य र एकता आवश्यक रहेको औँल्याए । सहमति र सहकार्यको विकल्प नभएको बताउँदै राज्यमन्त्री मेहताले राष्ट्रिय सहमतिका लागि दलहरूबीच एकता आवश्यक रहेको बताए । महोत्सवको उद्घाटनका अवसरमा जातीय भेषभुषा, झाँकी र बाजागाजासहित बजार परिक्रमा गरिएको थियो ।

सुनसरीमा लोप भइरहेको थारु परम्परा, संस्कार, संस्कृतिको संरक्षण, एकता र सद्भाव कायम गर्ने उद्देश्यले थारु कल्याणकारिणी सभाले शुक्रबार माघी महोत्सव मनाएको हो ।थारु संस्कृति झल्किने पौराणिक कला, संस्कृति र परिकारहरू महोत्सवमा प्रदर्शन गरिएका थिए । उद्घाटन कार्यक्रम सभाका सुनसरी अध्यक्ष महिनारायण चौधरीको अध्यक्षतामा भएको थियो ।