काठमाडौं / मधेशी मोर्चाले संविधान संशोधन विधेयक पारित गरेर मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने पूर्ववर्ती अडान दोहो¥याएको छ । र, उसले संसदमा पेश भएको संशोधन विधेयकसहित निर्वाचनसम्बन्धी विधेयक पारित गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेको छ । शुक्रबार प्रमुख दलसहितको बैठकमा मधेशी मोर्चाका नेताले बैठकमा व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भूमिका खेल्ने सहमति गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मधेशी मोर्चाका नेताले संविधान संशोधन विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा नगर्न सत्तारुढ काङ्ग्रेस र माओवादी केन्द्रलाई दबाव दिए । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा टेबल भएको संविधान संशोधन प्रस्तावसहित निर्वाचन सम्बन्धी विधेयक पारित गरेर स्थानीय तहको निर्वाचन सफल पार्न दलहरुलाई आग्रह गरे । बैठकमा संविधान संशोधन विधेयक र निर्वाचनसम्बन्धी कानुनलाई आवश्यक परिमार्जनसहित पारित गर्न सकारात्मक भूमिका खेल्ने सहमति भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै काङ्ग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, मातृका यादव, पम्फा भुसाल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, अशोक राई लगायत सहभागी थिए ।