विराटनगर / नेकपा एमालेको आठौं मोरङ अधिवेशनबाट अध्यक्षका उम्मेदवार विनोद ढकाल प्यानलले ९५ प्रतिशत स्थानमा जित हासिल गरेको छ । देशको राजनीतिलाई प्रभावित पार्न सक्ने जिल्लाको रुपमा चिनिएको मोरङमा एमालेका अध्यक्ष केपी ओली समूहका अध्यक्षका उम्मेदवार ढकालको प्यानलले अत्यधिक स्थानमा विजय प्राप्त गरेको हो । ८३ जनाको लागि निर्वाचनमा ढकाल समूहले ७९ स्थान प्राप्त गरेको छ । अध्यक्ष पदमा माधवकुमार नेपाल निकट मानिएका उम्मेदवार महेश रेग्मीलाई २ सय ७ मतको फराकिलो अन्तरले पछि पार्दै ढकाल विजयी भएका हुन् । पूर्व प्रधानमन्त्री केपी ओली पार्टीको अध्यक्ष हुनुभन्दा अगाडि ओली पक्षका भनेर चिनिएका थोरै जिल्ला अध्यक्षमध्ये ढकाल पनि एक थिए । अघिल्लोपटक २१ मतले रेग्मीसँग पराजित भएका उनी चार वर्षसम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बाहिरै बसेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बन्ने हैसियत हुँदाहुँदै पनि गुटगत भागवण्डाका कारण उनी अवसरबाट वञ्चित भएका थिए । चार वर्षपछि भने उनले आप्mनो प्यानलका ९५ प्रतिशत सदस्यलाई जिताएर राजनीतिक बदला लिएका छन् । ढकालले ५ सय ४१ मत प्राप्त गर्दा रेग्मीले भने ३ सय ३४ मत मात्र प्राप्त गरे । यस्तै पदाधिकारीमा रामलाल साहले ४ सय ६९ र उनका प्रतिद्वन्द्वीले ३ सय ५७ मत प्राप्त गरे । यस्तै सचिव ऋषिकेश पोखरेलले ५ सय ७ र उनका प्रतिद्वन्दी विद्या चाम्लिङले ३ सय ३८ मत प्राप्त गरिन् । उपसचिवमा धना तामाङले ४ सय ५८ र प्रतिद्वन्द्वी राजकुमार ओझाले ३ सय ४६ मत प्राप्त गरे । विजयी सबै पदाधिकारी ढकाल प्यानलकै हुन् । लेखा समितिमा ढकाल पक्षकै नन्दलाल गिरीले ४ सय ७ मत ल्याएर विजयी बने भने उनका प्रतिद्वन्द्वी डा. उद्धव पोखरेलले ३ सय ६२ मत ल्याए । निर्वाचनमा अर्जुन अधिकारीले टिकिन्द्र पोमोलाई पराजित गरे । खुल्ला सदस्यतर्पm भने रेग्मी पक्षका तीनजना निर्वाचित भएका छन् । पारुल क्षेत्री, सभासद् चण्डीप्रसाद राई र रुपेश खतिवडा विजयी भएका छन् । खुल्ला सदस्यमा ढकाल प्यानलका चर्चित विद्यार्थी नेता सागर थापा ३ मतले पराजित भए । खुल्लातर्पm कम मत ल्याएर ३ सय ४८ मतले सन्तोष वान्तवा निर्वाचित हुँदा थापाले ३ सय ४५ मत ल्याएका थिए । निर्वाचन समितिले मतपत्र नमिलाएर राखेका कारण उनी पराजित भएका हुन् । थापाले निर्वाचन समितिको लापरवाही र आप्mनै केही सहकर्मीले बेइमानी गरेका कारण आपूm पराजित हुनु परेको बताए । यस्तै खुल्लातर्पm विराटनगरका नाम चलेका व्यवसायी तुलसी पोखरेल पनि पराजित भएका छन् । उनले २ सय ९९ मत प्राप्त गरे । यसैगरी पूर्वी मोरङका चर्चित नेताहरु मानबहादुर श्रेष्ठ ३ सय १० मत ल्याएर पराजित भए भने भूपाल जिमी ३ सय १७ मत ल्याएर पराजित भए । मानव अधिकारकर्मी सञ्जु साह पनि चुनावमा पराजित भइन् । उनले ३ सय ३१ मत ल्याइन् भने उनीसँगै निर्वाचन लडेकी किरणदेवी चौधरीले ४ सय ४९ मत ल्याइन् । अहिलेको चुनावमा कुनैपनि गुटमा नलागिकन उम्मेदवार बन्नेहरु भने नराम्ररी पराजित भएका छन् । पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले ९० मत ल्याए । उनलाई महेश रेग्मी टिमबाट मनोनित गरी प्रतिनिधि बनाइएको थियो । यस्तै कोशी अञ्चल अस्पतालमा कार्यरत् नवराज लुईंटेलले ७७ मत ल्याए भने अर्का सुजय गौतमले २८ मत ल्याए । उनीहरु कुनै गुटको लिष्टमा परेका थिएनन् । तर दुवै गुटमा परेकाहरुले भने शानदाररुपमा विजय हासिल गरेका छन् । यसरी विजयी हुनेमा बसन्तदेव मण्डल, रमेश मण्डल र धर्मानन्द सञ्जेल छन् । उनीहरुले ६ सयको हाराहारीमा मत ल्याएका छन् । यवा सङ्घका चर्चित नेता पर्शुराम बस्नेत पनि ४ सय ७६ मत ल्याएर विजयी भएका छन् । सभासद् मधु गुरुङ पनि विजयी भएकी छन् । उनी ३ नम्बरको महिला निर्वाचन क्षेत्रबाट ४ सय ४१ मत ल्याएर विजयी भएकी हुन् । यता महिलातर्पm भने केन्द्रीय सदस्य जीवन घिमिरेकी श्रीमती विमला घिमिरे पनि पराजित भएकी छन् । महिला सदस्यमा सबैभन्दा कम्ती मत ४ सय १२ ल्याएर लीलादेवी रिजाल निर्वाचित हुँदा घिमिरेले ३ सय १७ मत ल्याइन् । पदस्थापन सम्पन्न एमाले मोरङको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कमिटीलाई शुक्रबार नै पदस्थापन गरिएको छ । पार्टी कार्यालय पाञ्चालीमा एक समारोह आयोजना गरी नवनिर्वाचित अध्यक्षलगायत सबै ८३ जना सदस्यलाई माला तथा टीकाले स्वागत गरी पदस्थापन गरिएको हो । प्रदेश कमिटीका इञ्चार्ज भीम आचार्य, जीवन घिमिरे, लालबाबु पण्डित लगायतका नेताको उपस्थितिमा पद हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नेताहरुले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरे । नेता घिमिरेले गुटगत राजनीतिले पार्टीको जीवनमा कठिनाइ आउन सक्ने भएकोले त्यसलाई आजैबाट अन्त्य गर्ने अभियान अघि बढाउन आग्रह गरे ।