इटहरी/ इटहरी–१५ स्थित एकम्वाका भवेश भनिने भविशेषक कुमार चौधरी माथि गोली प्रहार भएको छ । शनिबार साँझ ६ बजेतिर एमम्बाको नहर डिलमा उनी माथि गोली प्रहार भएको हो । छाती र पेटको बीचमा गोली लागी गम्भीर घाइते भएका २५ वर्षीय चौधरीको धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पोषराज पोख्रेलका अनुसार गोली प्रहारमा संल्लग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय विवेक शाह र सूर्य चौधरीलाई नियन्त्रणमा लिएको एसपी पोख्रेलले बताए । झुम्का बजारबाट ४ किलो मिटर दक्षिण खनार जोडिने नहर डिलमा शनिबार साँझ उनी माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनी त्यस बेला को. २४ प १६२६ नम्वरको मोटरसाईकलमा सवार थिए । आशंका गरिएका केही युवालाई उदृत गर्दै प्रहरीले चार जना मोटरसाइकलमा आएको समुहले गोली हानेको बताए पनि प्रहरीले स्थानीय युवा माथिनै निगरानी बढाएको छ । घटना के कारणले भयो भन्ने बारे अहिलेनै भन्न नसकिने प्रहरीले जनाएको छ । घटना स्थलमा गोली हानेको खोका समेत नभेटिएकोले घरेली कुटुवा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीको अनुमान छ । घटनाबारे स्थानीय केही बताउँन चाहँदैनन् । घटनाका बारेमा प्रहरीको पूर्व क्षेत्रीय प्रहरी कार्यालय अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक शान्तिराम कार्कीले बताए । गोली प्रहारमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिए पनि गोली चल्नु पर्ने कारणका बारेमा केही खुल्न नसकेको बताइएको छ । प्रहरी श्रोतको अनुसार पकलीस्थित नहर डिलमा शनिबार साँझ केही युवाहरु बीच विवाद समेत भएको थियो । सोही समयमा गोली चलेको बताइएको छ । यता घाइते भवेशका बुबा गोपाल चौधरीका अनुसार साँझको समयमा आफन्तलाई विराटनगर पु¥याउन जाने क्रममा नहर डिलमा पुगे पछि गोली प्रहार भएको हो । गोली प्रहार हुनु अुघि मोटरसाइकलमा आएका युवाबीच भनाभन समेत भएको प्रत्यक्षदर्शीले बताएको गोपाल चौधरीले बताए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका गोपाल चौधरीले ब्लाष्टखवरसँग भने ‘शरिरको गोली निकाल्न अहिले मिल्दैन अरे, तर, छोराका स्वाथ्यमा केही सुधार भएको छ ।’ घाइते भवेशका बुबा गोपाल चौधरी साविक एकम्वा हाल इटहरी उपमहानगरपालिका संयुक्त वडा कार्यालयका सचिव हुन् ।