umlकाठमाडौं/व्यवस्थापिका– संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक ‘राष्ट्रघाती’ भएको निष्कर्ष निकाल्दै एमाले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । त्यसो त एमालेका नेताहरूले  एमालेको जनमत प्रदर्शनसमेत भनेका छन् । एमालेसहित विभिन्न ९ दलले विरोध सभाको आयोजना गरेका हुन् । प्रदर्शनीमार्गमा एमालेले सभा गर्न लागेको हो । दिउसो १ बजे हुने सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । त्यसअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस समेत निकाल्ने एमालेले जनाएको छ ।

सर्वोच्च अदालते सोमबार विधेयकविरुद्ध परेको रिटमाथि फैसला सुनाउँदै ‘अन्तरिम आदेश दिनुनपर्ने’ बताएपछि एमालेले त्यसको स्वागत गरेको छ । आदेशले ‘स्टेप डाउन’ गरेकोसमेत प्रतिक्रिया दिएको छ । बदलिएको सन्दर्भमा जनप्रदर्शनलाई ‘प्रतिष्ठा प्रदर्शन’सँग जोडेको एमालेले बिहीबारै उपत्यकामा दश हजार मोटरसाइल ¥यालीको आयोजना गरेको दाबी गरेको छ ।

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले ‘यो इतिहासकै ठूलो मोटरसाइकल ¥याली’ भएको दाबी समेत गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भएको  अन्तरसम्बादमा  एमालेका शीर्षस्थ नेता उपस्थित थिए । जनप्रदर्शनको पूर्वसन्ध्यामा सवै शीर्ष नेताहरूलाई एकै मञ्चमा राखेर एकताको सन्देश दिँदै प्रदर्शनको बारेमा जानकारी गराएको थियो ।

जनप्रदर्शनको आयोजक को– को हुन् ? जनप्रदर्शनको अगुवाई प्रमुख प्रतिपक्षी दल एमालेले गर्ने छ भने उसलाई नेकपा (माले) नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, मधेश समता पार्टीले सघाउने भएका छन् । जनप्रदर्शनको तयारी यस्तो छ जनप्रदर्शनको लागि एमालले १४ पुसमा मोर्चा संगठनको बैठक राखेर आधारभूत तहको योजना बनाएको थियो । उपत्यकाको १५ वटै निर्वाचन क्षेत्र, २२ वटा जनसंगठन र उपत्यका आसपासका जिल्लामा समेत समन्वकर्ता खटाएको एमाले सचिव तथा प्रचार विभाग प्रमख योगेश भट्टराई बताउँछन् । आन्दोलनमा व्यापक जनसहभागिता जुटाउन आठ लाख पर्चा वितरण गरिएको भट्टराईले जानकारी दिए । “एमालेले मात्रै तीन लाखको पर्चा वितरण गरेको छ । अन्य आठ पार्टीले पाँच लाख पर्चा बाँडेका छन्,” भट्टराईले बाह्रखरीसँग भने, “सबै तयारी हेर्दा तीन लाख भन्दा बढी जनता सहभागि हुनेछन् ।”

जनप्रदर्शननका लागि पार्टी केन्द्रले मात्रै योजना बनाएको छैन । उपत्यकाका तलसम्म रहेका वडा कमिटीहरूलेसम्म आ–आफ्नो योजना बनाएको भट्टराईको दाबी छ । उनकाअनुसार एक संगठित सदस्यले तीन जना सहभागि अनिवार्य ल्याउनुपर्ने उर्दी नै जारी गरिएको छ । उपत्यकामा एमालेको ५० हजार संगठित छन् ।

त्यस्तै, उपत्यका बाहिरका सम्पर्क कमिटी, जन संगठनहरू, सुभेच्छुक संस्था र उपत्यका आसपासका जिल्लाबाट समेत कार्यकर्ता उतार्ने तयारी एमालेको छ । मञ्च कहाँ बनाइँदैछ ? आवागमन अवरुद्ध बारेर सार्वजनिक ठाउँमा सभा, जनप्रदर्शन गर्नु र सडकमा अवरोध खडा गर्नु वाञ्छनीय कुरा होइन । तर, यसो गर्नु वाध्यता भएको ठहर एमालेको छ । भट्टराई भन्छन्, “ खुलामञ्च आधा बसपार्क बनाइएको छ, आधा पनि काम लाग्ने हालतमा छैन । बानेश्वरमा पनि गर्ने कि भन्ने कुरा उठेको हो तर बानेश्वरमा सभा गर्दा सिंगै उपत्यकाको ट्राफिक  व्यवस्थापनमा अवरोध पुग्न जान्छ । त्यही भएर हामीले प्रदर्शनीमार्ग रोजेका हौँ, त्यस ठाउँमा अन्य वैकल्पिक बाटो प्रयोग गर्न मिल्छ र ट्राफिक व्यवस्थापन पनि सहज हुन्छ ।” “यो हाम्रो विकल्पहीन बाध्यता हो,” भट्टराई प्रष्ट्याउँछन् । करिब ५० जना अट्ने मञ्च राष्ट्रिय सभा अघिल्तिरको मूल सडकमै बनाइने भट्टराईले जानकारी दिए । उनका अनुसार मञ्चमा ९ वटै पार्टीको पहिलो र दोस्रो वरियताका नेताहरू रहनेछन् । स्वयम्सेवक व्यवस्थापन  नौ वटा पार्टीको जनसभा भए पनि मञ्च व्यवस्थापनदेखि स्वयमसेवक खटाउनेसम्म एमाले एक्लैले गर्ने भट्टराईको उद्घोष छ  । त्यसका लागि एमालेले पाँच सय स्वयम्सेवक खटाउने छ । “हामीले अरु पार्टीलाई जनसहभागिता जुटाउनुहोस् मात्रै भनेका छौँ, उहाँहरूलाई स्वयमसेवकको जिम्मा दिएका छैनौँ,” भट्टराईको भनाई थियो । सुरक्षा यसभन्दा अघि ८ दलले बानेश्वरमा आयोजना गरेको सभामा असुरक्षाको कारण देखाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए । एमाले अध्यक्ष ओली नआउने भए पनि आठ घटकमध्ये नेकपा (माले)का सीपी मैनाली मात्रै अध्यक्ष तहका नेता उपस्थित थिए । यस पटकको जनप्रदर्शनमा भने सुरक्षाका लागि सरकारसँग अनुरोध गरि पत्र पठाइएको भट्टराईले जानकारी दिए । उनका अनुसार सुरक्षा निकायलाई पत्र पुगिसकेको र आवश्यक सुरक्षाको प्रवन्ध मिल्ने विश्वास उनको थियो । त्यसका अलावा स्वयम्सेवकहरूले मञ्चलगायत जुलुस व्यवस्थापनमा सघाउने र त्यसको लागि बिहीबार बिहान स्वयमसेवक भेलाको आयोजना पनि गरेको छ । एमालेको मुख्य जुलुस दिउँसो १ बजे निस्कने छ । त्यसअघि विभिन्न ३५ ठाउँबाट निस्किएको जुलुस रत्नपार्क आएर मिसिनेछन् । त्यस्तै अन्य आठ पार्टीका लागि पनि छुट्टाछुट्टै आठ ठाउँ तोकिएको भट्टराईले जानकारी दिए । जनप्रदर्शनमा तीन लाख बन्दा बढीको सहभागिता रहने एमालेले जनाएको छ । सबै मानिस सभागृह चोकदेखि पद्मोदय मोडसम्म मात्रैमा अट्दैनन् । त्यसैले टुँडिखेल, भृकुटिमण्डप, विश्वभाषा, नेपाल ल, रत्नराज्य लक्ष्मी क्याम्पस र वाल्मिकी विद्यापिठभित्र पनि माइक राखेर सुन्न सकिने व्यवस्था मिलाइने भट्टराईले जानकारी दिए । तथापि उनीहरूलाई डिजिटल पर्दा राखेर हेर्न मिल्ने व्यवस्था मिलाउन भने नसकिएको उनको भनाई थियो । बाह्खरीबाट