fightइटहरी/विद्युत् चोरीको निगरानीमा गएका विद्युत् प्राधिकरणका कर्मचारीमाथि हातपात भएको छ । निगरानी गर्न गएका इटहरीस्थित प्राधिकरणका कर्मचारीमाथि जाइलागेका सुनसरी बाङ्गेका रविन्द्र बराइली र शालीग्राम कटुवाललाई महेन्द्रनगर प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले कर्मचारीलाई हातपात गर्नुका साथै प्राधिकरणको गाडीमा समेत क्षति पु¥याएको प्राधिकरण इटहरी शाखाले जनाएको छ ।प्राधिकरणका कर्मचारीहरु आइतबार सुनसरीको भरौल, कालाबञ्जर, महेन्द्रनगर क्षेत्रमा छड्के अनुगमनमा गएका थिए ।

त्यस क्रममा अवैधरुपमा विद्युत् प्रयोग गरिरहेका ६० घरबाट तीन गाडीभन्दा बढी सामान बरामद गरिएको प्राधिकरणले जनाएको छ । कर्मचारी रितेश झाका अनुसर फ्रिज, तार, टिभी, पङ्खा, राइस कुकरलगायतका सामान बरामद गरिएको छ । यसअघि पनि प्राधिकरणका कर्मचारीको टोलीले यत्तिनै परिमाणमा सामान बरामद गरेको थियो । प्राधिकरणका अनुसार हुकिङ प्रयोग गरी विद्युत चोरी गर्नेहरुलाई प्राधिकरणको नियमबमोजिम कारवाही हुनेछ ।

प्राधिकरणको क्षेत्राधिकारभित्र पर्ने कुमरखत, बक्लौरी, सिङ्गिया, धमौरा, महेन्द्रनगर क्षेत्रमा बढी मात्रामा विद्युत हुकिङ गरी प्रयोग गर्ने भएको पाइएको छ । विद्युत चोरी गर्नेलाई ३ हजार रुपैयाँभन्दा माथि उचित स्थिति हेरी जरिवाना गर्ने गरिएको प्राधिकरणले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १६ लाख रुपैयाँ जरिवाना गरिएको पनि झाले बताए ।२०६२÷०६३ को जनआन्दोलन तथा मधेश आन्दोलनपछि पूर्वी पहाडी जिल्ला र तराईका थुपै्रले इटहरी वरपरका क्षेत्रमा जग्गा खरीद गरेका थिए ।

अहिले इटहरी नजिकका चारवटा गाविसलाई समेटेर उपमहानगरपालिका भएपछि नयाँ घर बनाउने क्रम ह्वात्तै बढेको छ । बस्ती बढेसँगै इटहरीमा विद्युत मिटरको माग पनि ह्वात्तै बढेको छ । माग अनुसार प्राधिकरणले मिटर समेत दिन सकेको छैन ।