भद्रपुर/ झापाको भद्रपुर स्थित मेची नदीमा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल सुरु भएको आठ बर्षमा ९० प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ । २०७४ बैशाख मसान्त भित्र निर्माण कार्य सक्ने अनक एण्ड सूर्य कन्ट्रक्सन कम्पनीले दावी गरेको हो । तर सडक विभागले दुईं वटा पिलरको रि–डिजाइनको आधिकारीक पत्र नपठाएपछि निर्माण कार्यमा बाधा पुगेको कम्पनीले जनाएको छ ।
गत २०७२ फागुनमा सडक विभाग र हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर सहितको टोलीले बाङगिएको पिलरको अनुगमन गरी रि–डिजाईन बनाएका थिए । गत फागुनमा गरेको रि–डिजाइनको आधिकारीकपत्र १० महिना बित्न लाग्दा समेत नआउदा निर्माण कार्यमा समस्या आएको अनक एण्ड सूर्य कन्ट्रक्सन जेभीका फिल्ड इन्जिनियर सुरेन्द्र खतिवडाले बताए ।माटो परिक्षणले दिएको गलत रिपोर्टका कारण १७ वटा पिलर मध्ये १० र ११ नम्बरको पिलर माटो मुनि धसाउदा २५ सिएम (टिल) बाङ्गिएको थियो । पिलर बाङगिएपछि अहिले दुई वटा पिलरमा क्याप र पायरको निर्माण कार्य अधुरो छ । गत असोज १७ गते चाराआली–भद्रपुर–केचना सडकको शिलान्यास गर्न भद्रपुर आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, सडक विभागका डाइरेक्टर जर्नल देवेन्द्र कार्की लगायतको टोलीले मेची पुलको अवलोकन गर्दै चाडै रि डिजाइनको पत्र पठाइदिने बताएका थिए । तर, रि–डिजाइनको पत्र अहिले सम्म सडक विभागमै थन्किएको बुझिएको छ । सडक विभागले जति चाडो पत्र पठाउछ, काम त्यती चाडै सकिने खतिवडाको भनाई छ । पत्र पाएको १५ दिन भित्र अधुरो दुई वटा पिलरको क्याप र पायरको काम सकिने उनले दाबी गरे ।
१७ वटा पिलर मध्ये १५ वटाको काम सकिसकेको छ । जसमध्ये ४८ वटा स्ल्याबको काम सकिएर माथि ढलाई भइसकेको छ । १६ वटा स्ल्यावको काम बाँकी रहेको देखिन्छ । स्ल्यावको गडर बनाइसकेकोले क्रेनबाट उठाउन मात्र बाकी रहेको इन्जिनियर खतिवडाको भनाई छ । तत्कालीन उपप्रधान एवंम भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते शिलान्यास गर्दै तीन बर्ष भित्र पुल निर्माण हुने दावी गरेका थिए ।
नेपाल–भारत जोडने पुलको कुल लागत करिब ४४ करोड रहेको छ । पुलको लम्बाई ५ सय ६० मिटर र चौढाई ११ मिटर रहेको छ ।निर्माणधिन मेची पुलले झापा क्षेत्रको आर्थिक विकासलाई जोडने छ । भारतको बंगाल र विहार राज्यसग जोडनुका साथै बंगलादेशको बोर्डरको दुरी पनि यस नाकाबाट नजिक छ । नदीमा पुल नबन्दा दुवै देशका नागरिक बर्खामा ढुङ्गा (नाउ) र हिउदमा बासे पुल र रागाँ गाडीको सहयोगमा आवतजावत गर्न बाध्य छन् । पुल नबनेका कारण भद्रपुर छोटी भन्सारमा भारतवाट आउने सामान समेत जोखिम मोलेर ल्याउन व्यापारी बाध्य बनेका छन् ।
































