बिर्तामोड / शरीरमा काउछो दलेर रकम लुट्न खोज्ने तीनजना भारतीय लुटेरालाई प्रहरीले विर्तामोडबाट पक्राउ गरेको छ । बिर्तामोडको माछापुच्छ्रे बैंकबाट पैसा झिकेर निस्किएका व्यक्तिलाई काउछो र हिलो छरेर पैसा लुट्ने प्रयास गर्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको सिलिगुडीका मनिष ग्वाला, रोहन ग्वाला र कवर दासरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी केशव थेवेले बताए । उनका अनुसार पूर्व सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट काउछो, हिलो बनाउन प्रयोग गरिने बिस्कुट बरामद गरेको प्रहरीले जनाएको छ ।
बिर्तामोडमा यसरी लुटपाट गर्ने गिरोह नै रहेको प्रहरीको भनाई छ । उनीहरु पहिले पनि काउछो दलेर रकम लुटेको अभियोगमा पक्राउ परी कैद भुक्तान गरेका व्यक्ति हुन् । पक्राउ परेकामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।