ashok-raiकाठमाडौँ / नेकपा एमाले छाडेर संघीय समाजवादी पार्टी खोलेका अशोक राई अन्ततः एक्लै हुने अवस्थामा पुगेका छन् । नेकपा एमालेमा रहँदा पार्टी उपाध्यक्ष समेत रहेका राईले अघिल्लो बर्ष आफू भन्दा धेरै जुनियर उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि उनी झनै  समस्यामा परेका छन् । उनीसँगै एमालेबाट संघीय समाजवादी पार्टी हुँदै फोरममा पुगेका नेताहरु राईसँग असन्तुष्ट बनेका छन् । उपेन्द्र यादवले मधेसी नेताहरुलाई मात्रै महत्व दिने गरेका छन् । तर, राईकै पछाडी लागेर एमाले छाडेर गएका नेताहरु अहिले यता न उताको अवस्थामा पुगेका छन् ।

राईसँगै नयाँ पार्टी खोलेका विजय सुब्बा लगायतका नेताहरु एमालेमा फर्किसकेका छन् भने पासांग शेर्पा लगायतका नेताहरु बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेका छन् । राईले उपेन्द्र यादवसँग पार्टी एकता गर्ने विषयमा सैद्धान्तिक रुपमा असन्तुष्टि जनाएका रिजवान अन्सारी, वीरबहादुर लामा लगायतले शनिबार नयाँ पार्टी घोषणा गरेका छन् । राईसँगै संघीय समाजवादी फोरममा पुगेका अन्य नेताहरु पनि विद्रोह गर्ने मनस्थितिमा पुगेका छन् । एमालेमा रहँदा उपत्यकाको प्रभावशाली नेता बनेका राजेन्द्र श्रेष्ठ लगायतका नेता पनि राईसँग सन्तुष्ट छैनन् । फोरममा उपेन्द्र यादवको मात्रै हालीमुहाली चल्ने गरेको, आफूसँगै गएका नेतालाई राईले वेवास्ता गरेको असन्तुष्टको आरोप छ । संघीय समाजवादी फोरमका असन्तुष्टहरुको केही दिन अघि बानेश्वरमा भएको गोप्य बैठकले एमालेमै फर्कने, रिजवान अन्सारीसँग मिलेर अघि बढने या स्वतन्त्र समूह बनाएर अघि बढ्ने विषयमा छलफल गरेको स्रोतले जनाएको छ । केहीसमय अघि ५ केन्द्रीय सदस्यसहित नेताहरु एमाले प्रबेश गरेका थिए ।