विराटनगर/प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलहरु जिम्मेवार भएर लोकतान्त्रिक प्रकृयाबाट अघि बढ्नु पर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रि प्रचण्डले राजनीतिक द्वन्द्व समाधानकालागि संसदीय प्रकृया जानु उत्तम विकल्प भएको बताए ।
संविधान संशोधन विधेयक संसदमा दर्ताभएपछि त्यसमा छलफल हुनै नसकिरहेको र त्यसले राजनीतिक तिक्तता कायम गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रि प्रचण्डले संसदमा छलफल गर्नै नदिनु गैह्रलोकतान्त्रिक चरित्र भएको टिप्पणी गरे । उनले कुनै पनि विषय संसदमा प्रवेश भइसकेपछि छलफल गरेर टुंगोमा पुग्ने विधिलाई सवैले स्वीकार गर्नुपर्ने बताए । उनले भने ‘हामीले प्रमुख प्रतिपक्ष दललाई संशोधन विधेयक पारित गरिदिनु प¥यो भनेका छैनौं उहाँहरुलाई मन परेको छैन भने असफल बनाइदिए हुन्छ तर छलफल नै गर्न पाउँदैनौं भन्ने कुरा अलोकतान्त्रिक हो ।’ सरकारले दर्ता गरेको संशोधन विधेयक विफल होस् भन्ने सरकारको चाहाना त हैन भन्ने प्रश्नमा प्रधानमन्त्रि प्रचण्डले सरकार आफैंले ल्याएको प्रस्ताव जसरी पनि पारित गर्ने प्रयत्न हुने भन्दै संसदनै चल्न नदिने अवस्था आएपछि आफुले प्रतिकारात्मकरुपमा फेल गर्दिए भयो नि भनेको बताए ।
उनले एउटा विधि र प्रकृया पुरा भएर दर्ता भएको प्रस्ता विधि र प्रकृयाबाटै टुंगोमा पु¥याउनु पर्ने बताए । प्रधानमन्त्रि प्रचण्डले संविधान कार्यान्वयनकालागि तीन तहकै निर्वाचन समयमा गर्नु आवश्यक रहेको बताए । उहाँले अहिले चर्चामा रहेको जस्तो स्थानीय निकायको नभएर स्थानीय तहकै चुनाव गरिने बताए । स्थानीय तहको सिमाना निर्धारण गर्न गठन भएको आयोगले बुधवारसम्म प्रतिवेदन बुझाइसक्ने जानकारी दिनुहुँदै प्रधानमन्त्रिले त्यसपछि स्थानीय तहकै निर्वाचन हुने बताए । उहाँले संविधानमै नभएको प्रदेशको निर्वाचन पहिले गर्ने भन्ने कुरा हुन नसक्ने पनि स्पष्ट पारे ।
उनले भने ‘अहिलेको संविधानमा स्थानीय तह, प्रादेशिक निर्वाचन पछि मात्रै संघीय संसदको निर्वाचन हुने भनेको छ,’ प्रधानमन्त्रीले भने, ‘अहिले संविधानले नै परिकल्पना नगरेको विषय अघि हुनुपर्छ भन्नु वितण्डा मात्रै हो ।’ पहिले संसदको केन्द्रीय निर्वाचन गर्नुपर्छ भन्ने विषयमा गम्भिर षड्यन्त्र लुकेको भन्दै प्रचण्डले त्यसो गरिए संविधान असफल हने दावी गरे । प्रमुख प्रतिपक्ष दलले जतिछिटो संसदको अवरोध खुलाउँछ त्यति छिटो गतिरोध अन्त्य हुने बताउदै उनले संविधान संशोधन प्रस्तावको टुंगो लगाउने, लोकमानसिंह कार्की विरुद्ध लागेको महाअभियोग प्रस्तावको टुंगो लगाउने र निर्वाचनको मिति तय गर्ने कामले गति लिने बताए। निरन्तर संसद अवरुद्ध गर्दा राष्ट्र र स्वयं एमालेलाई क्षति हुने उनको भनाई छ ।
प्रधानमन्त्रि प्रचण्डले आफुले सबै राजनीतिक दलहरुलाई मान्य हुने र कसैलाई पनि प्रकृयाबाट बाहिर जान नदिने वातावरण तयार पार्न जहिलेपनि भूमिका खेलिरहेको तर त्यसालाई उल्टो अर्थ लागाउने गरिएकोमा दुःख व्यक्त गरे। आफु शान्ति प्रकृयामा आएपछि जहिले पनि दलहरुबीच समझदारी बढाउनमै ध्यान दिएको र अहिले पनि संशोधन मार्फत पाँच पक्षलाई एक ठाउँमा ल्याउने प्रयत्न भइरहेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रको १ नं. प्रदेशका केन्द्रीय आयोजक समितिका सदस्यहरु सम्मिलित विशेष बैठकमा सहभागी हुन विराटनगर आएका हुन् । प्रधानमन्त्रीसँगै माओवादी केन्द्रका बरिष्ठ रामबहादुर थापा बादल लगायतका नेताहरु बैठकमा सहभागी हुन विराटनगर आएका हुन् । बैठकमा आागामी स्थानीय तहको निर्वाचनको तयारी सम्वन्धमा छलफल हुने नेकपा माओवादी केन्द्रका १ नं. प्रदेशका इन्चार्ज गोपाल किरातीले जानकारी दिए ।