prachandaकाठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै बाहुन एउटै नभएको बताएका छन् । ‘एकथरी बाहुन जनजातिका निम्ति लडाइँ लड्छन्, ज्यान हत्केलामा राखेर हिँड्छन्’, उनले भने, ‘अर्काथरी बाहुन जनजातिलाई अधिकार दिनै हुन्न भनेर हिँड्छन्, यसमा तपाईंहरुले सबै एउटै हो भन्नुभयो भने अन्याय गर्नुहुन्छ ।’चितवनमा शनिबार शुरु नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रचण्डले भने, ‘एकथरी यस्ता बाहुनक्षेत्री छन्, जो सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनैपर्छ भनेर लडाइँ लडी फेरि जेल जान तयार छन् ।’

उनले एकथरी बाहुनक्षेत्रीले सङ्घीयता खोस्न खोजेको आरोप लगाए । ‘म यसमा प्रधानमन्त्री कार्यालयबाटै तपाईंहरुको पक्षमा विद्रोह गर्न तयार छु’, उनले भने, ‘त्यही भएर सबै बाहुन एउटै हो त ? होइन ।’ जो उत्पीडनमा परेका वर्ग समुदायका हकअधिकार निम्ति लड्छ, त्यो जनताको असली मित्र हुने उनले बताए ।उनले छिट्टै निर्वाचन घोषणा गर्ने तयारीमा रहेको समेत बताए । प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजाति, मधेशी र थारुहरुका पक्षमा सकिने जति संविधान संशोधन गरेर निर्वाचनमा जाने बताए । ‘राष्ट्रिय एकतालाई बलियो पार्न निर्वाचनमा गएर मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न सक्छौँ भन्ने मान्यतामा म छु’, उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतमा त्यही उद्देश्यका निम्ति समर्पित गरेको छु ।’

उनले साँच्चै आफ्नो पहिचान र अधिकार संविधानमा अभैm संस्थागत होस् र सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरोधीले टाउको उठाउन नपाओस् भन्ने चाहनेले सरकारले जे पहल गर्दैछ, त्यसमा मद्दत गर्न अपील गरे । ‘हिजो जसरी युद्ध र आन्दोलन तपाईंहरुको मद्दतले सफल भयो, त्यहीअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो’, उनले भने, ‘अहिले पनि त्यसरी नै मद्दत गर्नुभएन भने ठूलो राजनीतिक दुर्घटनाको खतरा छ, त्यो राजनीतिक दुर्घटनाले कतिपय मानिसले भनेजस्तो ०४७ तिर त नेपाल अब फर्कंदैन, जाने त अब ०७४ सालतिरै हो ।’उनले कहीँकतै ४ र ७, ७ र ४ दुई अङ्कचाहिँ उस्तै परे पनि देश ०७४ सालतिरै जाने दावी गरे ।

‘यदि दुर्घटना भयो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने, फेरि पहिलाकै सामन्तीतन्त्र ल्याउँछौँ भन्ने कसैले सोचेको छ भने त्यो उसको दुःशाहस मात्र हो’, उनले भने, ‘त्यो दिवासपना हो, त्यो कहिल्यै पूरा हुने छैन ।’