इलाम/पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको पुनर्संरचनाको काम नसकी गरिने स्थानीय तहको निर्वाचनले कुनै अर्थ नराख्ने बताएका छन् ।नेता खनालले अबको १३ महिनामा तीन वटै तहको निर्वाचन गराउनु समय सीमाका कारण असम्भव रहेको बताउँदै सरकारले प्राथमिकताका आधारमा चुनाव किटान गर्नुपर्ने बताए ।
नेकपा एमालेको चार महिने जनपरिचालन अभियान अन्तर्गत नेकपा एमाले क्षेत्र नम्बर–१ ले इलामको दानाबारीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दैै नेता खनालले देशमा संवैधानिक संकट आउन नदिन केन्द्रको चुनावलाई पहिलो प्राथमिकता दिनुपर्ने सुल्झाए । उनले संघीयता र संविधान कार्यान्वयनका बेला संशोधनको मुद्दा अगाडि सारेर सरकारले बिना सिजनको सनाई बजाइरहेको समेत आरोप लगाएका थिए । नेता खनालले केन्द्रको चुनाव पहिला गर्दा स्थानीय र प्रतिनिधि सभा बन्ने भएकाले यसले संवैधानिक संकट मोचनका लागि काम गर्न सक्ने बताए ।
देशमा संविधान र संघीयता कार्यान्वयनको मुद्दा जटिल बन्दै गएपछि नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई जोड दिएको नेता खनालले दावी गरेका छन् । उनले भने–‘यसका लागि पुनर्संरचनाको कामलाई जतिसक्दो चाँडो बिना विवाद टुङ्ग्याउनु पर्छ ।’ नेता खनालले नेपालको राजनीतिक इतिहासमा हिमाल, पहाड र तराई अलग पहिचानमा कहिल्यै नरहेको बताउँदै अहिले प्रयास भइरहेको जस्तो हिमाल, पहाड र तराईलाई अलग गर्ने कुरा एमालेलाई क्षम्य नहुने बताए ।
उहाँले भारतको निर्देशन र दवावमा हिमाल, पहाड र तराईलाई छुट्याउन केहि व्यक्ति लागिपरेको बताउँदै खनालले भन्नुभयो–‘यसरी देश छुट्याउने कामलाई एमालेले टुलुटुलु हेरेर बस्दैन ।’ नेपालमा १२५ मात्तृभाषा भए पनि कसैको भाषा हिन्दी नभएको बताउँदै खनालले हिन्दी नेपालको राष्ट्रिय भाषा हुन नसक्ने बताए । उनले भने–‘उत्तरतिरका नेपालीले चाइनिज भाषा बुझ्न र बोल्न पनि जान्दछन्, यसको अर्थ चाइनिजलाई पनि राष्ट्रिय भाषा बनाउने भन्ने होइन ।’ कार्यक्रममा प्रदेशसभाका सदस्य मणिकुमार लिम्बू, झापाका सांसद प्रेम गिरी, नेकपा एमाले इलामका अध्यक्ष राम राना, सचिव महेश बस्नेत, खिनु लङ्वालगायतले बोलेका थिए ।