
धरान/ नेकपा (माओवादी केन्द्र) को बिहीबार बसेको नगर बैठकले सुन्दर बस्ती जग्गा विकास आयोजनाको समस्या न्यायपूर्ण रुपमा समाधान गर्ने शर्तमा बहुआयामिक क्षेत्रमा बसपार्क बनाउन दिने निर्णय गरेको छ । माओवादी केन्द्रको यो निर्णयसँगै सो स्थानमा बसपार्क बन्ने बाटो खुलेको छ ।
सो स्थानमा बसपार्क बनाउने चर्चा पहिले नै चलेको थियो तर माओवादीकै असहमतिका कारण सो योजना अघि बढ्न सकेको थिएन । सुन्दर बस्ती जग्गा विकास आयोजनाको समस्या समाधान भएपछि मात्र सो क्षेत्रमा के गर्ने भन्ने धारणा दिने माओवादीले बताएको थियो । माओवादीका नगर इन्चार्ज अइन्द्रविक्रम बेघा र नगर संयोजक फोक्वाहाङ सुब्बा (चोत्लुङ) द्वारा जारी विज्ञप्तिमा बसपार्क निर्माण धरानको भविष्यसँग जोडिएकोे हँुदा तत्कालीन धरान नगरपालिकाद्वारा गठित कार्यदलको सुझावलाई समेत दृष्टिगत गर्दै ठोस निर्णय गरिएको जनाइएको छ ।
स्थानीय र दलहरु विभाजित हुँदा धरान–८ स्थित जग्गा विकास आयोजनाको बहुआयामिक क्षेत्र र सप्तरङ्गी पार्क कहाँ बनाउने भन्ने विवादसमेत भएको थियो । समस्याको न्यायपूर्ण समाधान भए आयोजनाको बहुआयामिक क्षेत्रमा बसपार्क बनाउन सकिने माओवादीको निर्णय छ । यससँगै धरानमा यातायात व्यवस्थापनको दीर्घकालीन समाधानका रुपमा धरान–१७ सप्तरङ्गी पार्कको तल्लो क्षेत्रमा बृहत् पार्किङ, भानुचोक र धरान–१३ जिरोप्वाइन्ट शिवधारा क्षेत्रमा बसस्ट्याण्ड, धरान–२३ पानमारा र धरान–२६ विष्णुपादुकामा बसपार्क, भेडेटारलगायत क्षेत्रमा पार्किङ क्षेत्र निर्माण गर्नुपर्ने शर्तसमेत माओवादीले अगाडि सारेको छ ।
यस्तै धरानका महत्वपूर्ण परियोजनामध्ये विमानस्थलको निर्माण कार्य अगाडि बढाउन नागरिक उड्डयन प्राधिकरणको सर्भेअनुसार विमानस्थल क्षेत्रभित्र परेकोे नगरपालिकाको नाममा रहेको सात बिघा जग्गा तत्काल प्राधिकरणलाई उपलब्ध गराउन पनि माओवादीले माग गरेको छ । जग्गा दिने–लिने विषयमा उपमहानगरपालिका र प्राधिकरणबीच तत्काल लिज सम्झौता गर्नसमेत माओवादी केन्द्रले माग गरेको छ । यस्तै विवाद भएर लामो समयदेखि स्थगित रहेको जग्गा विकास आयोजनामा नगरपालिकाका कर्मचारीहरुका नाम जोडिएका हुँदा ती कर्मचारीसँग सम्बन्धित जग्गा उमनपाले अधिग्रहण गर्नुपर्ने, छानविन गरी पीडित जग्गाधनीहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र आयोजनाले बिक्री गर्न छुट्याएको जग्गा दीर्घकालीन प्रयोजनका लागि उमनपाले आप्mनै नाममा राख्नुपर्नेलगायतका शर्त माओवादी केन्द्रले अघि सारेको छ ।
यस्तै विज्ञप्तिमा धरानका सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न सुकुम्बासीहरुलाई घर नम्बर दिएर धुरीकर लिने निर्णय तत्काल गर्नुपर्ने, सर्दू तथा सेउती तटबन्ध, सेरा, अँधेरी, कोकाहा, पूर्वखहरे र पश्चिम खहरेमा तटबन्धनका लागि बृहत् दीर्घकालीन योजना बनाउनुपर्ने, विजयपुर ऐतिहासिक–धार्मिक क्षेत्रको विकास र दरबार क्षेत्रको संरक्षण, उत्खनन् तथा पुनःनिर्माण गर्नुपर्नेलगायतका विषयमा यसअघि समेत उपमनपामा पटक–पटक माग तथा ज्ञापनपत्रसमेत पेश गरिएको जनाइएको छ ।
धरानको भविष्यसँग जोडिएका यी महत्वपूर्ण योजनाहरुलाई अगाडि बढाउन सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी–व्यावसायी, पत्रकार एवम् नगरवासीहरु एक भई अगाडि बढ्नसमेत माओवादी केन्द्रले अपील गरेको छ । धरानमा रोकिएका योजनाहरू अघि बढाउन आप्mनो पार्टीको यो निर्णयबाट सहज वातावरण बनाएको माओवादीका नगर संयोजक चोत्लुङले जनाए ।