vawanभद्रपुर/ नेपालमा ठेकेदारको कानुन फितलो भएका कारण निर्माण व्यवसायीको लापारवाही वढेर गएको पाइएको छ । ठेकेदारको लापारवाहीले जनस्वास्थ्य तर्फका निर्माणधिन अवस्थामा रहेका झापाका अधिकाश भवन अलपत्रमा परेको पाइएको हो । निर्माण व्यवसायीले ठेक्का लिदा तोकिएको समयमै निर्माण कार्य पुरा गर्ने भनि सम्झौता गरेपनि एउटै कम्पनीले चौतर्फी निर्माण कार्यमा हात हालेका कारण यस्तो अवस्था भएको हो ।

सहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय इलामले ठेक्का सम्झौता गरेका झापाका जनस्वास्थ्य कार्यालयसहित प्रथामिक स्वास्थ्य उपचार केन्द्र तथा स्वास्थ्य चौकी निर्माण कार्य अलपत्रमा परेका छन् । भवन निर्माणका लागी तोकिएको म्याद सकिसकेको र थप म्याद लिएर पनि ठेकेदारले हालसम्म काम पुरा नगरेको पाइएको छ ।भद्रपुर ६ स्थित भद्रपुर नगरपालिकाले टेलिकम कार्यालय छेऊ उपलब्ध गराएको जग्गामा निर्माणाधिन अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाको भवन निर्माण कार्य अझै पुरा भएको छैन । साढे तीन तले भवन निर्माणको ठेक्का चाङ्गमिल पुष्पाञ्जली÷कौशिक बस्नेत जेभीले २०६९ जेठमा लिएको थियो । कम्पनीले करिव १ करोड ६२ लाखमा लिएको ठेक्काको समय अवधी १५ महिना तोकिएको थियो ।

२०७० भदौमा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदार कम्पनीले पटक पटक म्याद थपेपनि निर्माण कार्य अधुरै नै रहेको छ । प्राथमिक स्वास्थ्य उपचार केन्द्र खजुरगाछीको भवन निर्माण कार्य पनि ठेकेदार कम्पनीको लापरवाहीले अलपत्रमा परेको छ । शंकरमाली÷पुष्पाञ्जली÷कुन्सालिङ्ग जेभीले २०६७ सालमा करिव ३ करोड ६२ लाखमा लिएको ठेक्का ०६८ मसिर १२ मा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । कम्पनीले अलपत्रमा पारेको भवन निर्माणका लागि पटक पटक गरी २०७४ जेठ मसान्त सम्म म्याद थपेको छ । सात बर्ष बित्न लाग्दा समेत भवन निर्माण कार्य ६० प्रतिशत मात्र सकिएको पाइएकोे छ । त्यस्तै स्वास्थ्य चौकी जलथलको भवन निर्माण कार्यमा पनि ठेकेदार कम्पनीले म्याद थपेको छ ।

खनाल कन्ट्रक्सनले ०७२ भदौ १५ मा करिव १ करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो । यसको म्याद ०७३ मसिर १५ सम्म थियो सो अवधिमा पनि काम नसकिदा ठेकेदार कम्पनीले ६ महिनाको म्याद थप गरेको सहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय इलाम, फिल्ड कार्यालय भद्रपुरले जनाएको छ । स्वास्थ्य चौकी महाभारा भवन निर्माण कार्य पनि तोकिएको समयमा सम्पन्न हुन सकेको छैन् । तोकिएको समयमा सम्पन्न नहुदा कम्पनीले ६ महिनाको म्याद थप गरेको छ । खनाल÷प्रविन जेभीले ०७२ भदौ १५ गते १ करोड ७९ लाखमा ०७३ मसिर १५ गते भित्र कार्य सम्पन्न हुने गरि ठेक्का सम्झौता गरेको थियो ।

स्वास्थ्य चौकी महेशपुरको भवन निर्माणको पनि म्याद थप गरेको छ । नेपाल प्रगती÷विकोई जेभीले ०७२ भदौ १५ गते १ करोड ६९ लाखमा ठेक्का सम्झौता गरेको थियो । ७३ मसिर १५ गते निर्माण कार्य सक्नुपर्ने अवस्थामा कम्पनीले ६ महिनाको म्याद थप गरेको फिल्ड कार्यालय भद्रपुरले जनाएको छ । स्वास्थ्य चौकी कोरोबारीको भवनको हालत पनि त्यस्तै छ । ०७२ मसिर १५ गते सक्नुपर्ने कार्य अझै पुरा भएको छैन । नेपाल प्रगती÷विकोई जेभीले १ करोड ६६ लाखमा ०७२ असोज ५ गते भवनको ठेक्का सम्झौता गरेको थियो । दुई महिना अघि फिल्ड कार्यालय भद्रपुरको जिम्मेबारी लिएर आएका कार्यालयका प्रमुख इन्जिनियर सुमनकुमार साहका अनुसार झापा आउदा अधिकाश निर्माण कार्य ठेकेदार कम्पनीले अलपत्रमा पारेर छाडेको बताए ।

तोकिएको समय सकिनु र म्याद थप गरेर पनि काम नगरेको पाइएपछि सम्बन्धित निर्माण व्यवसायीलाई पत्र काटेपछि अधिकाश भवनको निर्माण कार्य भइरहेको इन्जिनियर साहको भनाई छ । अव तोकिएको समयमा पनि निर्माण कार्य नसके विभागको निर्देशन अनुसार कालोसूचीमा राखेर कानुन बमोजिम कार्वाही प्रक्रिया अघि बढाउने उनले बताए । जनस्वास्थ कार्यालय, जलथल र हभाराको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउदै अन्यको हकमा ५० देखि ८० प्रतिशत सम्म काम सकिसकेको उनले बताए । उनका अनुसार झापामा यसबर्ष पनि स्वास्थ्य क्षेत्रमा १५ वटा योजना परेको छ ।

ती योजनाहरुको स्थलगत सर्वे र इस्टिमेट तयार भइसकेको छ भने टेण्डर प्रक्रियामा रहेको छ । फिल्ड कार्यालय अन्तरगत यसबर्ष करिव एक सय बढी २ देखि २० लाख सम्मको योजना, ५ सय घरपरिवारलाई जनता आवास कार्यक्रम अन्तरगत निशुल्क घर बनाइदिने र भद्रपुर नगरपालिका भित्र ५० करोडको २१ वटा योजना रहेको उनले बताए ।