भद्रपुर/घाँस–दाउरा काट्न जंगल गएकी एक महिलाको गोली लागेर ज्यान गएको छ । झापा जलथल ३ की ३१ वर्षिया अनिता मेचेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीले दिएको घट्ना विवरण अनुसार सोमावार दिउँसो जलथलमा रहेको कुनावारी जंगलमा घास काट्न गएका महिलाहरु मध्ये अनितालाई अज्ञात स्थलवाट आएको गोलीलागी घाइते भएकी जिल्ला प्रहरीका एसपी शैलेस थापा क्षेत्रीले बताए ।
घट्नापश्चात ओम साई भद्रपुरमा उपचारकोक्रममा साझ उनको मृत्यु भएको उनले जनाए । उनलाई कुममा गोली लागेको प्रहरीले बताएको छ । गोलीको छर्राले खुट्टामा लागी एक महिला समेत सामान्य घाइते भएको साथै थप विवरण आउन बाँकी रहेको उनको भनाई छ । घट्नास्थलतर्फ डिएसपी हरि प्रसाद शर्माको कमाण्डमा टोली गएकोले अनुसन्धान पश्चात कारण खुल्न सक्ने अनुमान गरिएको थापाले बताए ।