pradipविजयपुर / नेकपा (एमाले)का सचिब प्रदिप ज्ञावालीले एमाले झापा मोरङ र सुनसरी टुक्राउने षडयन्त्र हुन थालेको बताएका छन् । अहिले पाँच नम्मर प्रदेश टुक्राउन सक्रिय हुनेहरुले भोली एक नम्मर प्रदेशबाट सुनसरी मोरङ र झापा पनि अलग्न गर्नु पर्छ भन्ने प्रस्ताब लिएर आउने षडयन्त्र हुन थालेको भन्दै संसदमा पेश भएको संविधान संसोधन बिधयक सरकारले फिर्ता लिनु पर्ने उनले बताएका छन् । शनिबार धरानमा प्रेस चौतारी धरान कमिटिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले रुपान्तरित संसदलाई प्रदेशको सिमा हेरफेर गर्ने अधिकार नभएको भन्दै संविधानको धारा २७४ मा प्रदेश सभाको अनुमतिमा मात्र सीमा हेरफेर हुन सक्ने व्यबस्था भएको भन्दै पहिले निर्बाचन गरेर संबिधान कार्यान्वयनको लागि सहजता निर्माण गर्न सरकारलाई आग्रह गरे । बर्तमान सरकारले संबिधान संसोधन मार्फत घुमाउरो भाषामा हिन्दी भाषालाई राष्टिूय भाषा बनाउने प्रपन्च गरिरहेको भन्दै उनले अहिले संविधानमा भएको ब्यबस्थानै नेपालीको हितमा भएको उनले बताए । अहिलेको संबिधानले नेपालका हरेक जातजातीका मातृभाषालाई राष्ट्रिय भाषा घोषणा गर्दै प्रदेशका बहुसंख्यक जनताले बोल्ने स्थानिय मौलिक भाषा पनि काम काजको भाषा हुने ब्यबस्था गरेको तर संविधान संसोधन मार्फत भाषा आयोगले गरेको सिफारिसको आधारमा सरकारले सरकारी कामकाजको भाषा घोषणा गर्न सक्ने ब्यबस्था गरेर हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने खेल भइरहेको उनले बताए । पत्रकारहरुको जिज्ञासामा जबाफ दिदै उनले एमाले अहिले सरकार परिबर्तनको पक्षमा नरहेको बताए । ‘एमाले संविधान कार्यान्वयनको पक्षमा छ, सरकार परिबर्तनको पक्षमा हैन ।’– उनले भने । पत्रकार भेटघाट कार्यक्रममा एमाले सुनसरीका उपाध्यक्ष रमेश बस्नेत,एमाले जिल्लाका सचिवालय सदस्य तथा क्षेत्रिय इन्चार्ज प्रकाश राई,सह इन्चार्ज पदमप्रसाद, लिम्बु, सचिववालय सदस्य मुरारी सुबेदीलगायत जिल्ला तथा नगरका नेताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पछि नेता ज्ञावालीले नेकपा (एमाले) १ नं क्षेत्रिय कमिटीको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए ।