भद्रपुर/अवैध रुपमा भारतिय रुपैया सटही गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । भारतीय रुपैया अभाव भईरहेको मौका छोपेर सर्वसाधारण वाट महंगो बट्टा लिएर रकम सटही गरेको जानकारीका आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ७ का २८ वर्षिय वैजु शाह रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
शाहले सोहि नगरपालिका ६ मा सञ्चालित हरि किशन ट्रेर्डसमा रहेर सर्वसाधारणवाट नियम भन्दा बढी रकम लिएको जानकारीको आधारमा वुधवार साँझ पसलवाट नियन्त्रणमा लिएको वडाका इन्सपेक्टर राजन कुमार न्यौपानेले जनाए । शाहको साथवाट रकम भने फेला नपरेकोले विहिवार स्थानीय, सटही काउन्टरका प्रतिनिधी राखेर छलफल गरी अव उप्रान्त यस्तो धन्दा नगर्ने लिखित कागजात गराएर छाडिएको इन्सपेक्टर न्यौपानेले जानकारी दिए ।यता पुर्वीनाका काकरभिट्टामा झोले व्यापारीको विगविगीलाई निरुत्साही बनाउने क्रममा वेवारिसे अवस्थामा रहेको २३ हजार २ सय ९० भारतीय रुपैया प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरि प्रसाद शर्माले बताए ।
रकम अभाव भइरहेको अवस्थामा झोले व्यापारीले सर्वसाधारणवाट भारतीय एक सय बरावर २० देखि ४० रुपैया नेपाली बढी तिर्नुपर्ने जनगुनासो आएसगै दैनिक रुपमा खटिएको प्रहरी गस्तिटोलीले खेदाउने क्रममा रकमको झोला छोडेर भागेको हुनसक्ने प्रवक्ता शर्माको भनाई छ । बरामद रकमलाई कानुनी प्रक्रियाको लागी सोधपुछ भइरहेको उनले बताए ।
भारु अभाव भएसगै सिमा क्षेत्रमा देखिएको समस्यालाई साम्य पार्न हर तरहका प्रयास जारी रहेको प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्रीले बताए । विषेश गरी काकरभिट्टा नाकामा अवैध धन्दा गर्नेलाई प्रहरीले डर देखाउन केहिवेर प्रहरी कार्यालय भित्र समेत लैजाने गरेको लगायत विभिन्न उपाय लगाएर सर्वसाधारणलाई ठगिने वाट जोगाउन प्रहरी लागी परेको एसपी थापाको भनाई छ ।