पाँचथर / जिल्लाको भारपाबाट अन्दाजी ५ किलो सालकको खपेटा सहित कारोबारमा संलग्न दुई व्यक्ति पक्राउ परेका छन् । केही ब्यक्तिहरु अवैध रुपमा सालकको खपेटा बेचबिखनमा सक्रिय रहेको सुराकीको आधारमा ती ब्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुभाङ–३, बस्ने ५० वर्षिय खड्ग बहादुर योङहाङ र सोही स्थान बस्ने ६५ वर्षिय नर बहादुर योङहाङ रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई २ दिनको सर्च अपरेशनमा मंगलबार मेची राजमार्गको भारपा–६, बाट पक्राउ गरिएको जनाइएको छ । उनीहरुको साथमा रहेको ५ किलो सालकको खपेटा बरामद गरिएको छ । निजहरु उपर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाहीको लागि जिल्ला वन कार्यालय पाँचथरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।