पाँचथर / पाँचथरको थर्पु गाविसलाई ब्यवस्थित बिद्युतीकरण गरी अध्याँरो मुक्त गाविस बनाउन सकहारी संस्था मार्फत पहल सुुरु गरिएको छ । नेपाल सरकारको बिद्युत नीति अनुसार बिद्युत सहकारी संस्था मार्फत गाउँमा बिद्युतीकरण गर्न चाहेमा कुल बजेटको ९० प्रतिशत रकम अनुदान दिने र बाँकी १० प्रतिशत रकम स्थानीय उपभोक्ताले ब्योहोर्ने ब्यबस्था अनुसार यो काम अघि बढाइएको गौमुखी बिद्युत सहकारी संस्था थर्पुका अध्यक्ष जगत दाहालले बताए ।
थर्पुमा रहेको ५३ किलोवाट क्षमताको शिवा खोला साना जलबिद्युत आयोजनाबाट उत्पादित बिद्युतमा विभिन्न समस्या आइ रहने हुनाले गाउँमा ब्यवस्थित बिद्युतीकरण गर्नका लागि सहकारी मार्फत पहल थालिएको अध्यक्ष दाहालको भनाई छ । सरकारको नीति अनुसार सहकारीमा गाविसका सबै घरका एक–एक जना सदस्य बन्नुपर्ने अनि मात्र बिद्युत उपभोग गर्न पाइने ब्यबस्था छ । सोही नीति अनुरुप सिंगो गाबिसलाई बिद्युतीकरण गर्न दुई करोड ८० लाख २५ हजार ७ सय ७ रुपैंया खर्च हुने सर्भेले देखाएको छ । सो मध्ये गबिसले १० प्रतिशत ४८ लाख २ हजार पाँच सय ७० रुपैंया ब्यहोर्नु पर्ने गौमुखी सहकारीका उपाध्यक्ष टंकनाथ काम्बाङले बताए । स्थानीय उपभोक्ताले जम्मा गर्नु पर्ने रकम मध्ये थर्पु गाबिसबाट ११ लाख, काबेली बी वान जलबिद्युत आयोजनाबाट १५ लाखको रकम समेत गरी १० प्रतिशत रकम बैंक मार्फत नेपाल बिद्युत प्राधिकरण सामुदायिक ग्रामिण बिद्युतीकरण बिभाग बालाजुको नाममा पठाउने प्रक्रिया अघि बढेको अध्यक्ष दाहालले जानकारी दिए ।