नरिवल र फलफूलको कारोबारमा वृद्धि
- कार्तिक २०, २०७३
- ब्लाष्ट खबर
इनरुवा/सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा नरिवल र अन्य फलफूलको कारोबारमा वृद्धि भएको छ ।
छठ पर्वका अवसरमा उपयोग गरिने नरिवल, उखु, मुला, कागती, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटोको भाँडाकुडा लगायत समानको कारोबारमा वृद्धि भएसँगै यी समानको मूल्य समेत बढेको छ । मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् ।
अहिले बजारमा प्रतिगोटा रु ७० देखि एक सय सम्ममा नरिवलको खरिद बिक्री भएको नरिवल व्यापारी राजेन्द्र शर्माले बताए । तिहारमा समेत नरिवल बिक्री बढी भएकाले छठपर्वमा यसको मूल्य अकासिएको व्यापारी शर्माको भनाइ छ ।
सुनसरीमा बार्षिक रुपमा तिहार र छठमा रु ५० लाख भन्दा बढीको नरिवलको कारोबार तथा खरिद बिक्री हुने गरेको अनुमान व्यापारीको रहेको छ । रासस