धनकुटा/ धनकुटाका विभिन्न स्थानमा १२ हजारभन्दा बढी गाँजाको बोट नष्ट गरिएको स्थानीय प्रशासनले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा जिल्लाका छिन्ताङ, पाख्रिवास, महाभारत, आहाले, खोकु तथा आँखीसल्लालगायतका क्षेत्रमा गरी १२ हजार ५ सय २१ बोट गाँजा उखेलेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यसैगरी लागूऔषध तथा दुव्र्यसन नियन्त्रण गर्ने अभियानको क्रममा हालसम्म चारजनालाई पक्राउ गरिएको तथा लागूऔषध तथा दुव्र्यसनमा लागेकाविरुद्ध मुद्दा दर्ता भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । यस्तै २ केजी १ सय ग्राम गाँजा र ५ ग्राम खैरो हेरोइन बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । लागूऔषध नियन्त्रणका सम्बन्धमा जिल्लामा भएका विविध गतिविधिबारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी उप्रेतीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा करीब ८ सय ८७ रोपनीमा लगाइएका गाँजा फँडानी गर्नुका साथै तयारी अवस्थामा रहेको १ सय १० केजी नष्ट गरिएको उनले बताए ।
जिल्लामा लागूऔषध दुव्र्यसन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको विशेष समन्वयमा लागुऔषध दुरुपयोगविरुद्ध एकदिने अभिमुखीकरण कार्यक्रम पनि गृह मन्त्रालयको आयोजनामा सम्पन्न भइसकेको छ ।यसैगरी गत आर्थिक वर्ष लागूऔषध नियन्त्रणका क्रममा तीनजनालाई पक्राउ गरी दुईवटा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढेको र ४ केजी ८ सय ग्राम गाँजा, नाइट्रोजीपाम, लुपिजेसिक ५ र एभिल एम्पल ५ बरामद गरी नष्ट गरिएको छ ।
यस्तै लागूऔषध नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक कार्यक्रमहरु भइरहेका छन् । बढी मात्रमा गाँजाखेती हुने छिन्ताङ, आहालेलगायतका ठाउँमा गाँजा फँडानी गर्ने काम भइरहेको र गाँजा फँडानीका लागि छिन्ताङमा थप जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी विभुतिराज पाण्डेले बताए । छुटेका स्थानहरुमा पनि फँडानी गरिने एसपी पाण्डेले जनाए ।