pakrauविराटनगर/ छुरा प्रहार गरी दुई युवाको हत्याको घटनामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले १० जनालाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ । मोरङको भोगटेनी–५ तुर्केमा सोमबार राति हुर्रा नाच हेर्न गएको दुई समूहबीच झडप हुँदा स्थानीय केराबारी–९ का १७ वर्षीय सोनम गुरुङ र १५ वर्षीय दीपेन गुरुङको हत्या भएको थियो । हत्याका मुख्य अभियुक्त ध्वाँसे भनिने ३८ वर्षीय लीलबहादुर मल्ल ठकुरी, कपिल चेम्जोङ, निश्चल मगर, सन्तोष विश्वकर्मा, विक्रम मगर, उत्तम शाही, कुमार बस्नेत, सविन राई, आदित्य मगर र रुपन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई लेटाङ वरपरका क्षेत्र र सुनसरीको इटहरीबाट पक्राउ गरिएको हो । हत्यापछि सिंहदेवी, डाँडाबजार, भेडेटार हुँदै भारत भाग्न लागेका बेला प्रहरीले इटहरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोरअगाडिबाट मुख्य अभियुक्तसहित दुईजनालाई पक्राउ गरेको हो । बिहीबार नै जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको मोरङका एसपी सन्दीप भण्डारीले जनाए ।केही समयअघि फुटबल खेल्ने क्रममा लेटाङ भोगटेनीका युवासँग सामान्य विवाद भएको र त्यसैको इबी साँध्ने क्रममा हुर्रा नाचका क्रममा योजनाबद्ध आक्रमण भएको मृतक दीपेनका काका अनिल गुरुङले बताए । कक्षा ९ मा पढ्दै गरेका १५ वर्षीय दिपेनको पेटमा छुरा लागेको थियो । उनको आन्द्राभुँडी बाहिर निस्किए पनि आन्द्रामा चोट लागेको थिएन ।

घटना भएको तीन घण्टापछि मात्र स्थानीयले परिवार र प्रहरीलाई खबर गरेका कारण अधिक रक्तस्रावका कारण घाइते दुवैको ज्यान गएको हो । अर्का मृतक सोनमको तिघ्राको मुख्य नशा काटिँदा अधिक स्राव भएको थियो । प्रहरीले दुई दिन मेहनत गरेर मुख्य अभियुक्तसहित घटनाका सबै आरोपीलाई पक्राउ गरेको हो । मोरङ प्रहरीले गत लक्ष्मीपूजाको दिन विराटनगर उपमहानगरपालिका–५ स्थित गोकुल टोलमा इँटा प्रहार गरी हत्या गरेको आरोपमा तीनजनालाई पनि पक्राउ गरी मुद्दा दायर गरेको छ ।

स्थानीय ३३ वर्षीय विपिन ढकालको हत्या गरेको अभियोगमा विराटनगर–४ का रोशन भनिने सुरेश कटुवाल, १८ वर्षीय सुरज मण्डल र २७ वर्षीय भीमबहादुर मगरलाई पक्राउ गरिएको हो । उनीहरु रक्सी खाएर फर्कने क्रममा विवाद हुँदा मण्डलले ढकालमाथि इँटा प्रहार गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।